काठमाडौं । विगत ३२ वर्षदेखि विद्यार्थीहरुलाई सर्वसुलभ रुपमा गुणस्तरीय इन्जिनियरिङ अध्ययन गराई रहेको नेपाल इन्जिनियरिङ कलेजले नयाँ शैक्षिक सत्र २०८३ का लागि भोली बिहीबार प्रवेश परीक्षा लिँदैछ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित यस कलेजले नयाँ शैक्षिक सत्रको पहिलो प्रवेश परीक्षा भोली सञ्चालन गर्न लागेको हो ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त तथा नेपाल इन्जिनियरिङ काउन्सिलबाट समेत स्थायी मान्यता प्राप्त यस कलेजमा स्नातक तहमा आर्किटेक्चर तथा इन्जिनियरिङका ६ वटा विषयमा अध्यापन हुने गरेको छ । कलेजले भोली हुने प्रवेश परीक्षाको सम्पूर्ण तयारी पुरा भएको र विद्यार्थीहरुको सहभागीता पनि अपेक्षा गरेभन्दा राम्रो हुने बताएको छ ।
विहान १०ः३० बाट कलेजमै सञ्चालन हुने प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरुको आगमन हुने अपेक्षा गरिएको छ । कलेजका मिडिया रिलेसन अफिसर महेश पुजाराका अनुसार प्रवेश परीक्षामा सहभागी हुन सयौं विद्यार्थीले आवेदन दिएका छन् । ‘आज प्रवेश परीक्षाको आवेदन दिने अन्तिम दिन हो । अहिलेसम्म करिब ७ सय बढी विद्यार्थीले आवेदन दिएका छन् । आजै पनि अनलाइनमा धेरै विद्यार्थीहरुले फर्म भरिरहेका छन् । झण्डै ८ सय विद्यार्थी आउने अनुमान गरेका छौं ।’
कलेजका स्नातक तहका कार्यक्रम अनुसार आर्किटेक्टमा ४८ सिट, सिभिल इन्जिनियरिङमा १४४ सिट, सिभिल एण्ड रुरलमा ४० सिट, कम्प्युटर इन्जिनियरिङमा ९६ सिट, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८ सिट, इन्फरमेशन कम्युनिकेशनमा ९६ सिट तथा सिभिल फर डिप्लोमा होल्डर्समा ४८ सिट रहेका छन् ।
प्रवेश परीक्षा दिनका लागि विद्यार्थीले अनलाइनबाटै आवेदन दिन सक्छन् । यसका लागि https://nec.edu.np/register मा गएर फर्म भर्नुपर्छ ।
कलेजले इन्जिनियरिङ शिक्षामा विद्यार्थीको पहुँच बढाउने उद्देश्यले शुल्क समेत अन्य निजी कलेजहरुको अनुपातमा सर्वसुलभ राखेको छ । त्यसो त, यो कलेज मुनाफारहित सामाजिक संस्था भएकोले पनि शुल्कहरु कम राखिएको छ । साथै, कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्तिहरु समेत प्रदान गरिरहेको छ ।
कलेजले प्रवेश परीक्षामा उत्कृष्ट हुने, सेमेष्टरमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्छ भने, प्रादेशिक छात्रवृत्ति अन्तरगत सात वटा प्रदेशका एक एक जना विद्यार्थीलाई पूर्णछात्रवृत्ति, चाँगुनारायण नगरपालिकाका ४ वटा वडा तथा कागेश्वरी मनहरा नगरपालिकाका २ वटा वडालाई समेत छात्रवृत्ति सिट निर्धारण गरेको छ । यसका अलावा जेहेन्दार, गरिब विपन्न विद्यार्थीको शैक्षिक, आर्थिक अवस्था हेरेर विभिन्न छात्रवृत्ति दिने गरेको छ ।
शहरी भिडभाडबाट बाहिर शान्त तथा हरियाली वातावरणमा अवस्थित यो कलेज आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधारमा रहेको छ । विद्यार्थीको पठनपाठनको लागि पूर्णकालिन अनुभवी फ्याकल्टीहरु राखेकोले पनि कलेज प्रति विद्यार्थीहरुको ठूलो आकर्षण रहेको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताउनु भयो । कलेजमा १०५ जना भन्दा बढी फुलटाइम फ्याकल्टीहरू रहेका छन् । साथै, उहाँले नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको रहेको बताउँदै नेपाल इन्जिनियरिङ कलेज इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुको पहिलो रोजाई हुने जिकीर गर्नुभयो ।
0 प्रतिकृया