नेपालमै भविष्य देख्न थाले विद्यार्थी : व्यवहारिक सीप र अन्तर्राष्ट्रिय अवसरले नेपाल इन्जिनियरिङ कलेजतर्फ आकर्षित
एक्सन खबर
काठमाडौं । केही वर्षअघिसम्म विज्ञान संकायका उत्कृष्ट विद्यार्थीका लागि इन्जिनियरिङ अध्ययन गर्न विदेश जानु नै सफलताको पर्यायजस्तै मानिन्थ्यो । प्लस टुपछि अष्ट्रेलिया, अमेरिका, क्यानडा वा जापान जाने योजना बनाउने विद्यार्थी धेरै थिए । अभिभावकको सोच पनि त्यही थियो—उज्ज्वल भविष्यका लागि विदेश नै आवश्यक छ । तर अहिले परिस्थिति बदलिँदै गएको छ । बढ्दो अध्ययन खर्च, विदेशी विश्वविद्यालयको महँगो शुल्क, नेपालमै विस्तार भइरहेको सूचना प्रविधि उद्योग, अन्तर्राष्ट्रिय कम्पनीको उपस्थिति र गुणस्तरीय प्राविधिक शिक्षाको पहुँचले धेरै विद्यार्थीलाई स्वदेशमै भविष्य खोज्न प्रेरित गरिरहेको छ ।
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) ले शैक्षिक सत्र २०८३ का लागि आयोजना गरेको प्रवेश परीक्षामा देखिएको उत्साहले पनि यही परिवर्तनको संकेत गरेको छ । देशका विभिन्न जिल्लाबाट आएका विद्यार्थी परीक्षा दिन मात्र आएका थिएनन्, उनीहरू आफ्नो भविष्यको सम्भावना पनि खोजिरहेका थिए । अधिकांश विद्यार्थीको धारणा एउटै थियो—सही वातावरण, व्यवहारिक सिकाइ र अवसर पाए नेपालमै बसेर पनि अन्तर्राष्ट्रिय स्तरको इन्जिनियर बन्न सकिन्छ ।
दाङका संयाेग थारूले नेपाल इन्जिनियरिङ कलेज रोज्नुको मुख्य कारण शान्त शैक्षिक वातावरण, पूर्णकालीन शिक्षक र तुलनात्मक रूपमा सहज शुल्क भएको बताए । प्रादेशिक छात्रवृत्तिमा पनि प्रतिस्पर्धा गर्ने योजना रहेको उनको भनाइ छ । उनका अनुसार अहिले विद्यार्थीका लागि शुल्कभन्दा पनि शिक्षाको गुणस्तर र शिक्षकसँगको प्रत्यक्ष पहुँच बढी महत्वपूर्ण बनेको छ ।
काठमाडौंकी प्रिया बजगाईं केही महिनाअघिसम्म अष्ट्रेलिया जाने तयारीमा थिइन् । तर बढ्दो अध्ययन खर्च र परिवारमाथिको आर्थिक भारका कारण उनले योजना परिवर्तन गरिन् । नेपालमै कम खर्चमा गुणस्तरीय शिक्षा लिन सकिने विश्वास भएपछि उनले नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षा रोजिन् । उनका अनुसार अहिले नेपालमै अध्ययन गरेर पनि अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्ने अवसर बढिरहेका छन् ।
यस्तै काठमाडाैंकै एलिस थापा सूचना प्रविधि क्षेत्रमा नेपालमै प्रशस्त सम्भावना देख्छन् । सीप भए विदेशी कम्पनीका लागि नेपालबाटै काम गर्न सकिने र आफ्नै उद्यम सुरु गर्न सकिने उनको विश्वास छ । कम्प्युटर इन्जिनियरिङ पढ्ने सपना देखिरहेका भक्तपुरका दिप्सन केसी पनि अहिले इन्जिनियरिङको दायरा निर्माण क्षेत्रभन्दा धेरै फराकिलो भइसकेको बताउँछन् । सूचना प्रविधि, कृत्रिम बौद्धिकता र सञ्चार प्रविधिमा बढ्दो अवसरका कारण व्यवहारिक सिकाइलाई प्राथमिकता दिने कलेज रोजेको उनी बताउँछन् ।
प्रवेश परीक्षामा सहभागी अधिकांश विद्यार्थीसँग गरिएको कुराकानीमा एउटा समानता देखिन्थ्यो—उनीहरू अब केवल डिग्री होइन, व्यवहारिक सीप, अनुसन्धान, उद्योगसँगको सहकार्य, इन्टर्नसिप र अन्तर्राष्ट्रिय अवसरलाई प्राथमिकता दिन थालेका छन् ।
शिक्षाविद्हरूका अनुसार अहिलेको रोजगार बजारमा पाठ्यपुस्तकको ज्ञान मात्र पर्याप्त छैन । उद्योगले समस्या समाधान गर्न सक्ने, अनुसन्धानमुखी र नयाँ प्रविधिसँग आफूलाई अद्यावधिक गर्न सक्ने जनशक्ति खोजिरहेको छ । त्यसैले इन्जिनियरिङ शिक्षाले पनि व्यवहारिक सिकाइलाई केन्द्रमा राख्न थालेको छ ।
पोखरा विश्वविद्यालयका फ्याकल्टी उपेन्द्र यादवका अनुसार पछिल्ला वर्षहरूमा विद्यार्थीको सोचमा उल्लेखनीय परिवर्तन आएको छ । गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र रोजगारीको सम्भावनालाई आधार बनाएर कलेज छनोट गर्ने प्रवृत्ति बढेको उनले बताए । उनका अनुसार नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयको इन्जिनियरिङ शिक्षाको विकासमा सुरुदेखि नै महत्वपूर्ण भूमिका खेलेको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको संस्थाले उत्पादन गरेका धेरै इन्जिनियर नेपालसँगै विश्वका विभिन्न देशमा सफलतापूर्वक कार्यरत छन् ।
कलेजका प्राचार्य दुर्गा प्रसाद भण्डारीका अनुसार नेपाल इन्जिनियरिङ कलेजको उद्देश्य केवल स्नातक उत्पादन गर्नु होइन, उद्योग र समाजलाई आवश्यक दक्ष जनशक्ति तयार गर्नु हो । त्यसका लागि विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै इन्टर्नसिप, परियोजना, उद्योगसँगको सहकार्य र व्यावसायिक अनुभवसँग जोडिएको शिक्षण प्रणाली अपनाइएको उनले बताए । उनका अनुसार कलेज मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ र आम्दानी पुनः विद्यार्थी, अनुसन्धान, प्रयोगशाला तथा पूर्वाधार विकासमै लगानी गरिन्छ । हरेक वर्ष करिब १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरिने व्यवस्था पनि रहेको उनले जानकारी दिए ।
सहायक प्राचार्य मोहनध्वज केसीका अनुसार आज उद्योगले प्रमाणपत्रभन्दा काम गर्न सक्ने क्षमता खोज्छ । त्यसैले प्रयोगशाला, फिल्डवर्क, अनुसन्धान र उद्योगसँगको सहकार्यलाई नियमित शिक्षण प्रक्रियाको हिस्सा बनाइएको छ । कलेजमा १०५ भन्दा बढी पूर्णकालीन प्राध्यापक कार्यरत रहेकाले विद्यार्थीले आवश्यक परेका बेला सहज रूपमा शैक्षिक परामर्श र अनुसन्धानमा सहकार्य गर्न सक्ने वातावरण रहेको उनले बताए ।
प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिँदै कलेजले आधुनिक प्रयोगशाला, डिजाइन स्टुडियो, कम्प्युटर ल्याब, अनुसन्धान केन्द्र र डिजिटल सिकाइ प्रणाली विस्तार गर्दै आएको जनाएको छ । विद्यार्थीले कक्षाकोठामा सिकेको सिद्धान्तलाई प्रयोगशालामा परीक्षण गर्ने, टोलीमा परियोजना निर्माण गर्ने र वास्तविक समस्या समाधान गर्ने अभ्यास नियमित रूपमा गर्ने व्यवस्था छ । यसले आत्मविश्वास, विश्लेषणात्मक क्षमता, नेतृत्व र टोलीमा काम गर्ने संस्कार विकास गर्न सहयोग पुगेको कलेजको भनाइ छ ।
कलेजले विषयगत अध्ययनलाई कक्षाकोठाभित्र मात्र सीमित नराखी विद्यार्थीको नेतृत्व, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता विकासका लागि विभिन्न प्राविधिक क्लब सञ्चालन गर्दै आएको छ । आइट्रिपल स्टुडेन्ट ब्रान्च, हल्ट प्राइज एट नेक, नेक आइटी क्लब लगायतका क्लबमार्फत विद्यार्थीले सेमिनार, ह्याकाथन, अनुसन्धान, रोबोटिक्स, कोडिङ र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुने अवसर पाउने गरेका छन् ।
अन्तर्राष्ट्रिय एक्सपोजरलाई पनि कलेजले प्राथमिकतामा राखेको छ । इरास्मस (Erasmus+) कार्यक्रममार्फत उत्कृष्ट विद्यार्थीले स्पेनका साझेदार विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन तथा शैक्षिक आदानप्रदान गर्ने अवसर पाउँदै आएका छन् । जापानलगायत विभिन्न देशसँगको सहकार्यले विद्यार्थी र प्राध्यापकलाई संयुक्त अनुसन्धान तथा प्राविधिक आदानप्रदानमा सहभागी गराउँदै आएको कलेजले जनाएको छ ।
३२ वर्षभन्दा लामो इतिहास बोकेको नेपाल इन्जिनियरिङ कलेजले हालसम्म हजारौँ इन्जिनियर उत्पादन गरिसकेको छ । उनीहरूमध्ये धेरै नेपालका सरकारी तथा निजी संस्थामा कार्यरत छन् भने उल्लेख्य संख्यामा अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान संस्था र बहुराष्ट्रिय कम्पनीमा आबद्ध छन् । पूर्वविद्यार्थीको यही सफल उपस्थितिले नयाँ पुस्ताका विद्यार्थीलाई पनि प्रेरित गरिरहेको कलेजको विश्वास छ ।
विद्यार्थीहरूको रोजाइमा देखिएको परिवर्तनले नेपाली उच्च शिक्षाबारे एउटा स्पष्ट सन्देश दिएको छ । गुणस्तरीय शिक्षा, अनुभवी शिक्षक, आधुनिक पूर्वाधार, व्यवहारिक सिकाइ, अनुसन्धान र अन्तर्राष्ट्रिय अवसर उपलब्ध गराउन सके स्वदेशमै अध्ययन गर्ने विद्यार्थीको संख्या अझ बढ्न सक्छ । विदेश अध्ययनको आकर्षण अझै कायम रहे पनि त्यसलाई मात्र सफलताको एकमात्र बाटो नठान्ने नयाँ पुस्ता विस्तारै तयार हुँदैछ । नेपाल इन्जिनियरिङ कलेजको प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूको अनुभवले पनि यही परिवर्तनलाई प्रतिबिम्बित गर्छ—उनीहरूका लागि अब गन्तव्य केवल विदेश होइन, गुणस्तरीय शिक्षा, व्यवहारिक सीप र आफ्नो क्षमता विकास गर्ने उपयुक्त संस्था बनेको छ ।
0 प्रतिकृया