‘कांग्रेसकाे घाेषणापत्र बकवास र तथानाम गालीको दस्तावेज हो’केपी शर्मा ओली
एक्सन खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रलाई ‘बकवास र गालीगलौज’को दस्तावेज भएको टिप्पणी गरेका छन् । राजनीतिक विश्लेषण केही पनि नभएको र तथानाम गाली नै गाली भएकाले घोषणापत्रलाई राजनीतिक दस्तावेज भन्न नसकिने तर्क गरे ।
२३ औं मनमोहन अधिकारी स्मृति दिवसलाई मंगलबार बिहान सम्बोधन गर्दै ओलीले नामै किटेर आफूलाई गाली गरेको र उत्ताउलो विकास गरेको आरोप लगाएको बताए ।
‘नेपाली कांग्रेसले चुनावी घोषणापत्र भनेको त्यो राजनीतिक दस्तावेज होइन । जम्माजम्मी धारे हात लगाएको छ, एमालेलाई । ५ वर्ष त्यसै खेर गयो भनेको छ । रेल ल्याउनु उत्ताउलो विकास हो’, उनले भने, ‘यस्तै यस्तै बकवास र गालीगालैच घोषणापत्रमा दर्जानौँ ठाउँमा नाम किटेर तथानाम गाली गरेको छ । राजनीतिक विश्लेषण छैन । शब्द थुपारी के हुन्छ ?’
उनले खेस्रो लेखेर नीति नहुने पनि बताएका छन् । सम्बोधनका क्रममा उनले कम्युनिस्ट आन्दोलनप्रति चिन्ता पनि व्यक्त गरे । दोस्रो महाधिवेशनमा पुष्पलालविरुद्ध घेराबन्दी भएको, मनमोहन अधिकारीलाई षड्यन्त्रपूर्वक पार्टीबाट हटाएको र आफूविरुद्ध पनि घेराबन्दी भएको बताए ।
तात्कालिक क्षति पुगेपनि एमालेलाई घाटा नभएको उनको भनाइ छ ।
प्रचण्ड र नेपाल डा. केशरजंग जस्ता
ओलीले दुई जना पूर्व सहयोद्धाहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई डा. केशरजंग रायमाझीसँग तुलना गरेका छन् ।रायमाझीले जसरी नेकपा हुँदा दाहाल र प्रचण्डले पार्टी संगठन कब्जा गर्न खोजेको टिप्पणी गरे । उनले पार्टी कब्जा गर्ने परम्परा रायमाझीले थालनी गरेको समेत बताए।
‘प्रचण्ड र माधव नेपालहरूले एकीकरणका नाममा जुन एकता गर्दाखेरी बनाएको संगठन थियो, त्यसलाई दुरुपयोग गरेर पार्टी कब्ज गर्न खोजियो । त्यसरी नै डा. केशरजंग रायमाझीले पार्टी कब्जा गरेका थिए’ ओलीले भने ।
पुष्पलाल श्रेष्ठ संस्थापक महासचिव रहेको नेकपाको दोस्रो महाधिवेशनपछि मनमोहन अधिकारी महासचिव भएका थिए । तर, उनी चीन जाँदा डा. रायमाझीले यता नेपालमा पार्टी कब्जा गरेका थिए । सोही प्रसङ्ग जोड्दै ओलीले प्रचण्ड र माधवले पनि नेकपा हुँदा त्यसै गर्न खोजेको आरोप लगाएका हुन् ।
यस्तै, ओलीले कम्युनिस्ट आन्दोलनमा राम्रा नेताहरूविरुद्ध घेराबन्दी भएको भन्दै न्यायको पक्षमा उभिन नेता कार्यकर्ताहरूलाई आग्रह गरे । ‘न्यायको पक्षमा एमालेका कार्यकर्ताहरू जिउँदो मान्छे भएर उभिनुपर्छ ।’ उनले भने ।
0 प्रतिकृया