Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


पदमा नपुगुन्जेल गरिबहरूको नाराबाजी पुगेपछि भ्रष्ट्राचार गर्ने होडबाजी

एक्सन खबर
बैशाख, १३, २०७९


पदमा नपुगुन्जेल गरिबहरूको नाराबाजी पुगेपछि भ्रष्ट्राचार गर्ने होडबाजी

उमेश थापा
 हामी नेपालीहरूमा छिटो बिर्सिने प्रवृत्ति छ । केही ठूला अत्यासलाग्दा घटनाहरू मात्र सम्झिन्छौं तर अरु बिर्सिन्छौँ । २०७२ वैशाख १२ गते मुलुकमा महाभूकम्प गयो । घर भत्केर धेरैको ज्यान गुमाए । तर, पनि हामीले पाठ सिकेनौं । ठूल्ठूला दरबार ठड्याउने काम अझैपनि जारी नै छ ।

त्यसैगरी, अरु मुलुकझैं नेपालमा पनि कोरोनाले तहल्का मच्चायो । २०७६ चैत ११ गते देखि सरकारले देशभर पहिलोपटक लकडाउन घोषणा गर्यो । दोस्रो पटक २०७८ साल वैशाख १६ गते लकडाउन गरियो । जनस्वास्थ्य नीति अपनाइयो । विभिन्न क्रियाकलापमा रोकसमेत लगाइएको थियो ।

मुखमा माक्स, स्यानिटाइजर, साबुन पानीले हात धुने र भौतिक दुरीको पालना अनिवार्य गरियो । माक्स लगाउनु कोरोना मात्र नभई प्रदुषणबाट जोगिने उत्तम उपाय हो । स्वास्थ्यका लागि माक्स लगाउने निर्णय निकै राम्रो छ । माक्स लगाएपछि कुनै रोग पनि सर्न पाउँदैन ।

तर, अहिले आएर सबैले कोरोनाले मच्चाएको तहल्का बिर्सिएका छन् । भुकम्पमा नौ हजार र कोरोनाका कारण ११ हजारभन्दा बढी मानिसहरू बितेको कुरा सबैको मस्तिष्कबाट हटिसकेको छ । अधिकांशले माक्स लगाउन छाडेका छन् भने अन्य जनस्वास्थ्य मापदण्डको पनि पालना भएको छैन ।

बढ्दो कोरोना कारण चीनको विभिन्न प्रान्तमा लकडाउनमा छ । भारतमा पनि दिनहुँ कोरोना बढिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाउँछन् । कोरोनालाई लिएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सूचना जारी गरेको छैन । खुला सीमानाका कारण नेपाललाई फेरिपनि कोरोनाले शिथिल पार्ने देखिएको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडालाई ठेक्कापट्टामै भ्याइनभ्याई छ । कुनचाँहि व्यापारीलाई ठेक्का दिँदा बढी कमिसन आउँछ यसमा उनी सोचमग्न भएका छन् । मरे पनि अरु मर्ने हो भन्ने विचार स्वास्थ्यमन्त्री खतिवडाको छ । जसका कारण स्वास्थ्यमन्त्रीले जनताबाट असफल र भ्रष्टाचारी मन्त्रीको ट्याग पाएका छन् ।

न स्वास्थ्यमन्त्रीले सित्तैमा गरिबहरूको उपचार गर्न सके न सबैलाई खोप दिलाउन । केपी ओलीको सरकार हुँदा विरोध खतिवडा सांसद थिए । एक कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विरोध खतिवडाले भनेका थिए ‘मैले त निःशुल्क खोप लगाउन नपाएर पाँच हजार तिरेर लगाए ।’

जनताबाट चुनिएर आएको सांसदले त पाँच हजार तिरे भने जनताले खोप लगाउन कति तिरे होलान् ? खोपमा पनि आर्थिक चलखेल चलेको पाइन्छ । पैसा र पहुँच नहुने नेपालीहरुले अझैपनि खोप पाएका छैनन् । जनताले तिरेकोे करबाट किनेको र थुप्रै देशले अनुदानस्वरुप दिएको  खोप हिनामिनासमेत भएको खबरहरु बाहिर आयो ।

तर, पछि विभिन्न बहाना बनाएर यसलाई छोप्न काम गरियो । तत्कालीन प्रधानमन्त्री केपी ओली र हालका स्वास्थ्यमन्त्री खतिवडाले खोप नै बेचेर लाखौ रकम भ्रष्ट्राचार गरेका छन् । अनुदान र सरकारले किनेको खोपमा यिनीहरुले मोजमस्ती चलाए । हातमा सत्ता भएको मौका छोपेर भ्रष्ट्राचार गर्ने काम गरिएको छ ।

खतिवडा मन्त्री भएर आएपछि उनले सरुवा र बढुवाबाहेक केही काम गरेका छैनन् । कर्मचारीको सरुवा बढुवा गरेर कमिसन खाएको कुरा लुकाएर लुक्दैन । सबैभन्दा बढी भ्रष्टाचार केपी ओलीको सरकारले गरेको सबैलाई स्मरण नै होला । मन्त्री खतिवडाको चुनाव जिल्ला मकवानपुर हो ।

उनी २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका नेता हुन् । अबको चुनावमा मन्त्री खतिवडालाई जनताले हराईदिन्छन् । पुरानो व्यक्तिहरुलाई पार्टीले टिकट दिएपनि जनताहरु भोट दिनेवाला छैनन् । पदमा नपुगुञ्जेल नाराबाजी पुगेपछि भ्रष्ट्राचार गर्ने होडबाजी । पदमा पुगेपनि दलालीको बाहेक कसैको काम गर्दैनन् नेताहरु ।

जनताहरुले अब यस्ता दलालीलाई सत्तामा पुर्याउँदैनन् । जनतामा निकै चेतना आइसकेको छ । आर्थिक कमजोर भएका बिरामी उपचार गर्ने जाँदा बेड पाउँदैनन र पाए पनि उपचार गर्ने पैसा हुँदैन । महँगीको कारणले भोकभोकै बस्नुपरेको छ । एमालेका अध्यक्ष केपी ओली फेरि पनि बहुमतको सरकार आउँछ भनेर भाषण ठोक्दै हिँडेका छन् ।

नेताभन्दा पनि कलाकार भनेर चिनिने ओलीले अब राम्रो सबक पाउनेछन् । ओलीको निकै नजिकका पात्र गोकुल बाँस्कोटा काभ्रेबाट चुनाव हार्ने पक्का भएको छ । यता, महेश बस्नेत पनि भत्तपुरबाट पराजित हुन्छन् । ओली आफ्नै गृहजिल्ला झापाबाट नराम्रोसँग पछारिनेछन् ।

ओलीले सरकार चलाउन नसकेर दुईचोटि सांसद् विघटन गरे । पार्टी चलाउन नसकेर पार्टीको बैठ्कदेखि लिएर मन्त्रीपरिषद् बैठ्कसमेत वालुवाटारमै गर्थे । पार्टी कार्यालय पनि जान नसक्ने यता सिंहदरबार पनि आउन नसक्ने । प्रधानमन्त्री हुँदा उपचारका लागि उनले धेरै रकम लिएका छन् । विदेशमा गएर उपचार गराए ।

जनताले तिरेको कर खर्च गरेर भोज लगाउने । केकमा समेत देशको नक्सा बनाएर काटे । अहिले सरकारले ७० वर्ष नटेकेको लागि भत्ता दिँदैन । २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा जेष्ठ नागरिकहरुलाई ६५ बर्षमै भत्ता दिने निर्णय भयो । दीर्घकालिन रोगीलाई मासिक पाँच हजार भत्ता दिनेसमेत भनिएको थियो ।

यो निर्णयले सबै नेपाली जनता हर्षित भएका थिए । २०७४ साल फागुन ३ गते ओलीको सरकार आउने बित्तिकै देउवा सरकारले गरेको सबै निर्णय उल्टाइदिए । चुनावको बेलामा जेष्ठ नागरिकहरुसँग भत्ता बढाई दिन्छु भनेर भोट मागे तर, बढाइदिएनन् । जनताबाट चुनिएर आएका सांसद््ले मन्त्री पाएनन् तर जागिरबाट रिटार्यड भएको कर्मचारीलाई अर्थमन्त्री बनाइयो ।

नजिकका मान्छेलाई राजदुत बनाउने, ठेक्का दिने, मनोनित सांसद् बनाउने ओलीको पालामा यस्ता काम मात्रै भए । नेपालीहरु जिम्मेवार नहुँदा नेताहरुले मोजमस्ती गरे मनलाग्दी शासन चलाए । आफनो पार्टीका सांसद् वा कार्यकर्ताहरुलाई बालुवाटारमा बोलाएर कालो अरिँगाल जस्तै बन्नु भनेर निर्देशन दिने पनि ओली नै हो ।

कालो अरिँगाल पाल्ने पार्टीलाई अब जनताले भोट दिन्छन् ? देशको प्रधानमन्त्री भएर बालुवाटारमा बाँसुरी बजाएर बस्न सुहाउँछ ? कुनै  क्षमता समेत नभएको व्यक्तिलाई देश चलाउने चाबी दिएर देश विकास हुन्छ ? अब आउने स्थानीय चुनावमा एमालेका वडाध्यक्षदेखि मेयरले नराम्रोसँग हार्छन् ।

एमालेका कार्यकर्ता जेष्ठ नागरिकलाई बृद्दभत्ता हामीले दिएको भनेर चुनावी नारा बजाउँदै हिँडेका छन् । ओलीले आफनो गोजीबाट वृद्धभत्ता दिएका हो र ? जनताले तिरेका करबाट दिनु छ त्यही पनि फाइँफुटी । सरकारी कर्मचारीदेखि पेन्सनवालाहरुलाई हाम्रो पार्टी तलब बढाएको भनेर उनले छाती फुलाएका छन् । तर, त्योपनि आफ्नो घरखेत बेचेर बढाइदिएको हो र ?

एमालेमा कलाकारहरु भित्रिने काम बढिरहेको छ । हिजो भित्रिएका कलाकारहरुले एमालेमा ठाउँ पाइरहँदा वर्षौदेखि पार्टीमा लागेका हेरेको हेर्यै भइसके । ओलीको अगाडी जसले मिठो कुरा गर्छ त्यो व्यक्तिले पद पाउँछ भन्ने कुरा स्पष्ट भइसकेको छ । अबको चुनावमा एमालेले आफ्नो औकात देख्नेछ । किन कि जनताहरु एमालेको सही ठाउँ देखाउन तम्तयार भइसकेका छन् । यस्तो पार्टीलाई भोट दिनुअघि जनताले निकै नै सोचविचार गर्नुपर्छ ।
काठमाडौं


 













0 प्रतिकृया