Follow us:


Follow us

४ वैशाख २०८३, शुक्रवार
४ वैशाख २०८३, शुक्रवार


पानी समेत खुवाउन नसक्नेलाई फेरी कसरी विस्वास गर्ने ?

एक्सन खबर
बैशाख, १६, २०७९


पानी समेत खुवाउन नसक्नेलाई फेरी कसरी विस्वास गर्ने ?

सुनसरी । सुनसरीको धरानमा गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारविच चुनाबी प्रतिष्पर्धा हुने देखिएपनि दलीय भीडभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवारी दिएका हर्क साम्पाङको चर्चापनि धरानभरी देखिएको छ । साम्पाङले धरानका जल्दाबल्दा सामाजिक मुद्दाहरु उठान गरेकैले धरानबासी विच लोकप्रिय छन् । धरानको खानेपानी समस्या, सर्दु सेउती खोलाको उत्खनन, वीपी प्रतिष्ठानको विक्रिति, नगरपालिकामा भएको कूशासन आदीमा खरो रुपमा बोल्ने पात्र हुन् उनी ।

सामाजिक अभियान्ता भनेर परिचित साम्पाङले बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । साम्पाङ धरानका २० वटै वार्डहरुमा कुदिरहँदा उनीप्रति मतदाताहरुको आकर्षण बढेको छ । साम्पाङले करिब दुई वर्षयता धरानका जल्दाबल्दा समस्या तथा विक्रिति विसंगतिका विरुद्ध निरन्तर खबरदारी गरेकै कारणले धरानबासी माझ लोकप्रिय भएका हुन् । उनले धरानको खानेपानी सरोकार समुह भन्दै धरानका सबै वार्डहरुमा आफ्नो टीम खडा गरेका छन् ।  

उनको पार्टी छैन, निर्वाचन आयोगले शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेपछि मात्रै साम्पाङलाई केमा भोट हाल्ने तय हुन्छ । तर, उनले मेयरमा स्वतन्त्र उम्मेदवारी दिनु अगाडी नै धरानबासीले चिनिसकेका छन् । यो चुनाबमा धरानबासीले विकल्प खोजेका हुन् भने साम्पाङभन्दा उपयुक्त पात्रपनि देखिएकै छैन । भलै उनको दल छैन चुनाब जित्लान् नजित्लान् तर, उनी ठूला दलहरुको ‘टाउको दुखाई’ चैं भएका छन् ।  

कम्युनिस्ट फुटेका, कांग्रेस अलोकप्रिय भएको तथा यसपालिको निर्वाचनमा नयाँ मतदाताका रुपमा थपिने करिब ३० हजार युवा मतदाता उनको पक्षमा उभिने देखिएको छ । सँगै खानेपानीको मुद्दा लगातार उठाउँदै आएकाले धरानबासीको सहानुभूती साम्पाङ प्रति बढेको छ ।  

धरानमा हर्क साम्पाङ उदाउनुमा एकाध कारणहरु छन् । पहिलो कारण सत्तामा रहेकाले नगरबासीका मुद्दा समाउन सकेनन् । दोश्रो कारण उनीहरु सत्ता भोगी भए । तेश्रो कारण उनीहरुमा जवाफदेहीता भएन । चौथो कारण सत्ता पक्षलाई खबरदारी गर्ने बलियो प्रतिपक्षी पनि भएन । यी चार कारणलाई टेकेर नै हर्क साम्पाङ उदाएका हुन् । धरानको सवालमा साम्पाङले एक वर्षयता लगातार प्रतिपक्षीको भूमिका निर्वाह गरेका छन् । उनले पार्टी जितिरहने धराने जनता हारिरहने परिपाटीकाे अन्त्य गर्न आफ्नाे उम्मेदवारी भएकाे बताएका छन् ।

साम्पाङले धरानको मुख्य समस्या खानेपानीको मुद्दालाई प्राथमिकताका साथ उठाईरहेका छन् । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा सञ्चालित परियोजना असफल भएको ठहर गर्दै त्यसमा भएको भ्रष्टाचार छानविन गर्नुपर्ने माग सम्पाङको मात्र हैन धरानबासीको पनि हो । महंगो शुल्क तिरेरपनि खानेपानी नपाउँदा धरानबासी नगरका जनप्रतिनिधिसँग रुष्ट छन् । जुन अस्वभाविक पनि हैन, किनभने, अहिले पनि धरानमा खानेपानीको हाहाकार छ । ठूला राजनीतिक दलका नेताहरु यो विषयमा बोल्नै सक्ने अवस्थामा छैनन् ।  

सन् २०१२ देखि सञ्चालित परियोजनाको सम्झौता अवधि समाप्त भएकोसमेत थाहा नपाउने मेयर तिलक राई, धरानबासीलाई २४ सै घण्टा स्वच्छ खानेपानी खुवाउँछु भन्ने उपमेयर मञ्जु भण्डारीसहित माओवादी केन्द्रका स्थानीय नेताहरुले खानेपानीलाई चुनाबी नारा त बनाए तर, सत्तामा पुगेपछि आफ्नै घोषणापत्र पनि विर्सिइदिए । तर, जसै स्थानीय तहको निर्वाचन घोषणा भयो अहिले पुनः उनीहरुको जिब्रोमा सबैभन्दा पहिले निस्किने विषय खानेपानी कै भएको छ । यद्यपि, यसपल्टको निर्वाचनमा खानेपानीकै कारण दलहरु जनताका नजरमा गिरेकाले साम्पाङको जीतको संभावना छ ।

मेयरमा निर्वाचित भए ‘खानेपानी खुवाउन नसके धरान नै छाडेर हिँड्ने’ सम्मको उनको बाचा छ । उनले एडीवीको खानेपानी असफल भएको बताउँदै अब सप्तकोशीको पानी ल्याएर खुवाउने जिकीर गरेका छन् । तर, कुनै न कुनै दलको सदस्यता लिएर दलको इशारामा ब्यालेटमा जाने नागरिकले आम जनताको समस्या बोक्ने हर्क साम्पाङ जस्ता स्वतन्त्र व्यक्तिलाई जिताउने छन् भन्नेमा शंका चैं छ ।

धरानको अर्को समस्या हो सुकुम्बासी । २ दशकयता दलहरुको चुनाबी घोषणापत्रमा ‘धरानको सुकुम्बासी समस्या समाधान गछौं’ भन्ने वाक्य महत्वका साथ लेखिएपनि अहिलेसम्म समाधान हुन सकेको छैन । हुन त यो राष्ट्रिय समस्या हो तथापि, धरानमा सुकुम्बासीका नाममा धेरैले भोट मागे । २०५४ साल यता धरानबाट जतिले राजनीति गरे, जति नेता उत्पादन भए ती सबैले सर्दु, सेउती तथा धरानका खहरे खोलाका डिलमा बसेका हज्जारौं सुकुम्बासीको घरघर छिरेर अझ ‘नक्कली लालपुर्जा’ समेत बाँडेर मत बटुले । जसै उनीहरु सत्तामा गए सुकुम्बासीलाई ‘खोलो तर्यो लौरो विर्सियो’ गरिदिए ।

कांग्रेसका किशोर राई, तिलक राई, मिन विश्वकर्मा, मिना सुब्बा, एमालेकी मञ्जु भण्डारी, मुरारी सुवेदी, जयकुमार राई, कृष्णकुमार राई, मिनकुमार सुब्बा, मनोजकुमार मेन्याङ्वो, माओवादीका किरण राई, चोत्लुङ लगायत जतिपनि स्थानीयदेखि केन्द्रसम्म राजनीति गर्नेहरु छन् सबैले सुकुम्बासीलाई ‘सपनामा लालपुर्जा’ बाँड्नुवाहेक केही नगर्दा उनीहरु पनि साम्पाङका पक्षमा उत्रने संभावना छ । सुकुम्बासीको ‘मसिहा’ हुँ भन्ने कुमार कार्की लगायतका नेताहरुको त रोजीरोटी नै त्यहीँबाट चलेको छ । दलहरुको अगाडी समस्या उठाउँछन् तर, समाधान नहोस् पनि ठान्छन् । साम्पाङले सुकुम्बासी समस्या समाधान तर्फ पनि सोचेका छन् ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्को समस्या हो । प्रतिष्ठान संघीय सरकार अन्तरगत रहेकाले धरानबासीको कुनै साइनो नभएको भन्नेहरु छन् । तर, धरानमा रहेरपनि स्थानीयताका हिसावबाट नगरबासीले ‘हाम्रो हो’ भन्न पाएका छैनन् । प्रतिष्ठान भ्रष्टाचार, कूशासन विक्रिति विसंगतिले चुर्लुम्म डुबेको छ । स्वास्थ्य सेवा नगर अस्पतालको भन्दा गए गुज्रेको छ । धरानबासीले मात्र हैन एक नम्बर प्रदेशका कुनैपनि जनताले सहज सेवा पाइरहेका छैनन् । यो विषयमा ठूला राजनीतिक दलहरुले ‘चुँ’सम्म गर्न सकेका छैनन् । बरु उल्टै प्रतिष्ठानका भ्रष्ट ब्यक्ति अधिकारीहरुसँग मिलेर कमिसन र चन्दा उठाउन दत्तचित्त रहेको आरोप छ । प्रतिष्ठानलाई भ्रष्टाचार मुक्त, राजनीति मुक्त स्वास्थ्य संस्था बनाउन साम्पाङले खबरदारी गरिरहेका छन् ।

जसरी निजी क्षेत्रबाट गोर्खामा सञ्चालित मनकामना केवलकारले स्थानीयलाई विशेष सुविधाको प्रबन्ध गरेको छ त्यसैगरी वीपी प्रतिष्ठानले नगरबासीलाई स्वास्थ्य शिक्षा, सेवा र रोजगारीमा प्रबन्ध गर्न किन मिल्दैन ? यो कुरा राजनीति गर्नेका एजेण्डा किन बन्दैन ? आज धरानबासीले सोधेको प्रश्न हो ।

धरानको अर्को समस्या हो आम्दानीको श्रोत व्यवस्थापन । धरान उपमहानगरपालिकाले एकीकृत सम्पत्ति करवाहेक अन्य ठोस आम्दानीका आधार तयार पार्न सकेको छैन । एकीकृत कर पनि अचाक्ली बढाएपछि विगत वर्षहरुबाट नगरबासीले विरोध गरेका छन् । ठूलो औद्योगिक कलकारखाना छैन, धार्मिक तथा आन्तरिक पर्यटनको संभावना भएपनि नेतृत्वको मगजमा घुसेको छैन । ठूला आयोजनाहरु नभएपछि नगरबासीले तिरेको करले नगर प्रशासन टिकेको छ ।

नगरको अधिकांश विकास निर्माणमा नगरबासी आफैंले ४० देखि ६० प्रतिशतसम्म जनसहभागीता जुटाउने गरेका छन् । ठोकूवाका साथ भन्न सकिन्छ धरानका ८० प्रतिशत सडक, कल्भर्ट, ढलमा नगरबासीको लगानी छ । यदी धरानबासीले जनसहभागीता उहिल्लै टाट पल्टने थियो । जनसहभागीताकै कारण धरान नेपालकै आधुनिक सुन्दर, व्यवस्थित आवासिय शहर बनेको हो । साम्पाङले यसलाई पनि एउटा मुद्दा बनाएका छन् ।

धरानका २ तिर २ वटा ठूला खहरे खोलाहरु छन् । पूर्वमा सेउती, पश्चिममा सर्खु । यी खोलाले वर्षेनी त्यसआसपास बस्ने सयौं नागरिकलाई दुखः दिइरहेको भएपनि नगरमा नेतृत्व गर्ने दलहरुको आँखा परेको छैन । कथंकादाचित कसैको आँखा परेको रहेछ भनेपनि स्थायी समाधान खोजिएको छैन । कारण हरेक वर्षायाममा आउने भेलले क्षती गर्छ त्यसलाई नियन्त्रण गर्न भन्दै बजेट निकाल्न पाइन्छ । ३० प्रतिशत काम गरेजस्तो गर्यो बाँकी ७० प्रतिशत आफ्ना दलका नेता कार्यकर्ताको भरण पोषणमा जान्छ ।

अझ सेउती सर्दुबाट वर्षेनी निस्कने करोडौंको नदीजन्य पदार्थमा यहाँका ठूला दलहरुकै संरक्षणमा दोहन भइरहेको छ । एक वर्षअघि हर्क साम्पाङले यसकै विरोध गर्दा राज्यको नजरमा अपराधी बनेर महिनौं गुमनाम भए । मेयर, उपमेयर तथा राजनीतिक दलहरुकै आडमा सर्दु उत्खनन भइरहँदा उनी एक्लै त्यसको प्रतिवादमा उत्रँदा टाउको फुटाउनु पर्यो । उल्टै प्रहरीको निशानामा परे ।

धरानको बसपार्क निर्माणको समस्या अहिलेसम्म सुल्झिएको छैन । एकीकृत सुन्दरवस्ती निर्माणका नाममा ब्रम्हलूट गर्नेहरु शीर ठाडो पारेर हिँडिरहेका छन् । उपमहानगरपालिकाले नगरभित्र एउटा सामान्य नगरबस समेत चलाउने योजना कसैले बनाएनन् बरु, आफ्ना लागि व्यक्ति पिच्छे महंगा सवारीसाधन किन्न नगरको बजेट सिध्याए ।

साच्चिकै धरानबासीको लागि राजनीति गर्ने हो भने तिनकुने, फुस्रे, विजयपुर, रेल्वे, पानमारा लगायतमा सामान्य भाडा लिएर ४ वटा नगरबस चलाउने योजना किन बनाइदैन ? अझ अहिले त विद्युतीय बसको कुरा आइसकेको छ । धरानको ४० किलोमिटर क्षेत्रमा एउटै मुल्यको टिकट राखेर नगरबस चलाउने हो र धरानका थोत्रा प्रदुषणयुक्त टेम्पो, सिटी सफारी हटाउने होभने धरान देशकै नमूना आवासिय शहर हुन्थ्यो । नगरबासीले पनि नगर सरकार छ भन्ने अनुभूती गर्थे ।

धरानलाई मुलुककै उत्कृष्ट आवासिय नगरका रुपमा विकास गर्न सकिन्छ । तर, त्यसकालागि अल्पकालिन, दिर्घकालिन योजना चाहिन्छ । जुन अहिलेका कांग्रेस, एमाले, माओवादीसँग पटक्कै छैन । २० वर्षको दौरानमा यिनीहरुकै संघ, प्रदेश र स्थानीय तहमा हालीमुहाली छ । तरपनि, सिन्को भाँच्न सकिरहेका छैनन् भने पुनः यिनिहरुलाई नै किन सत्ता सुम्पने ? आम नगरबासीले सोधिरहेको प्रश्न हो यो ।

भानुचौकमा एउटा राम्रो सार्वजनिक शौचालयसमेत चलाउन नसक्नेले जनताका अपेक्षा पुरा गर्लान् भनेर पुनः विस्वास गर्नु ‘चोरलाई चाबी’ दिएजस्तै हो । आफ्नै क्षमताले गर्नसक्ने काम त नदेख्नेले संघ, प्रदेशको बजेटमा हुने ठूल्ठूला योजनाहरु पुरा गर्छुभन्दा कसरी विस्वास गर्ने ?

नगरपालिका नगरबासीको अभिभावक हो । नगरपिताले आफ्ना नगरबासी कसरी समृद्ध, सुखी र खुसी हुन्छन् हेर्न सक्नुपर्छ । चुनाब जितेको भोलीपल्टै आफ्नै संधियारलाई समेत विर्सने बानी परेकाले जनताकालागि २४ सै घण्टा हाजिर हुन्छुभन्दा पत्याउनु मुर्खता सिवाय केही हैन ।

अर्को कुरा अहिले कांग्रेस एमालेबाट चुनाबी मैदानमा आएकाहरु पनि विवादरहित मान्छे चैं हैनन् । किशोर राई, मञ्जु भण्डारी दुवै जनताका नजरमा असफल हुन् । किशोर राईमाथि दसैं तिहारमा जुवातास युक्त मेला लगाएर लाखौं असुल्ने, सर्दुजलाधारको जग्गा विक्रि गर्ने, धरान फुटवल क्लबका नाममा नगरको कोष दोहन गर्ने आरोप छ ।

मञ्जु भण्डारीमाथि पनि नगरको सम्पत्ति दोहन गरेको, वीपी प्रतिष्ठानका भ्रष्टहरुलाई संरक्षण गरेको, श्रीमान मुरारी सुवेदीले बीमाका नाममा चलखेल गरेको आरोप छ । धरानको खानेपानी आयोजना असफल पार्न ठूलै कसरत गरेको आरोप लागेकी उनले पुनः निर्वाचित भए पानी खुवाउँछु भन्दा कसरी पत्याउने ? दलका नेताहरुका यस्तै हर्कतले नगरबासीहरु विकल्प खोज्न बाध्य छन् । हर्क साम्पाङलाई किन एकपल्ट मौका नदिने ? भन्न थालेका छन् ।  

हर्क साम्पाङ पनि विवादमा नपरेका व्यक्ति चैं हैनन् । सामाजिक सञ्जालहरुमा अपाच्य शब्द प्रयोग गर्ने, जाति, समुदायभन्दा बाहिर निस्कन नसक्ने भन्नेहरु पनि छन् । सामान्य विषयमा पनि उत्तेजक प्रतिकृया दिन्छन्, गोपनियता राख्न सक्दैनन् भन्ने छ । त्योसँगै उनी एक्ला भएकाले यदी मेयर भइहाले पनि कसैको साथ, सहयोग पाउँदैनन् भन्ने छ । साम्पाङसँग खासगरी नगरमा बजेट ल्याउने सवालमा केन्द्र, प्रदेशसँग लविङ गर्ने क्षमता छैन, बोल्ने शैली पनि भएन पनि भन्छन् ।

तर, धरानको विकासमा जनताका दैनिकीहरुलाई सहज र सवल बनाउन, नगरले दिने सेवा प्रवाह चुस्तदुरुस्त बनाउन प्रदेश र केन्द्रको हात रहँदैन । नगरका सबै वडाहरु र त्यहाँका जनप्रतिनिधिलाई जनमैत्री बनाउने, नगरका आयोजनाहरु समयमा पुरा गराउन सक्ने, मितव्ययितता, जवाफदेहिता र पारदर्शीता कायम गर्ने हुनुपर्छ । त्यसो त विगत २० वर्षदेखि संघ, प्रदेश र स्थानीय तहमा राजनीति गर्नेहरुले पनि नगरको विकासमा खासै उपलब्धीपूर्ण काम गरेको देखिँदैन । बरु दलीय गठबन्धन, संयन्त्रका नाममा संघ मातहतको बजेटबाट कसरी हुन्छ बढीभन्दा बढी कमिसन खान पाइन्छ भन्नेमा केन्द्रीत भएको आरोप छ । उदाहरणका लागि एडीवी खानेपानी परियोजना, बसपार्क, सभागृह हेरौं न ।

तसर्थ, जनतासँग प्रत्यक्ष सरोकार राख्ने, जनतासँग जोडिने प्रतिनिधि चयन गर्दा हाम्रालाई हैन राम्रालाई साथ दिउँ । पटकपटक सत्तामा पुगिसकेका जनताका नजरमा असफल भएकाहरुलाई अब कतिपटक विस्वास गर्ने ? कुनैपनि काम गर्छु भन्ने जनप्रतिनिधिलाई ५ वर्ष भनेको धेरै ठूलो समय हो । ५ वर्षमा त एउटा बच्चा जन्मिएर तोतेबोली गर्दै हिँड्न सक्ने हुन्छ । तर, हाम्रा नेताहरुलाई चैं कति समय चाहिने हो ?



















0 प्रतिकृया