जगन्नाथलाई ‘भुइँकटहर’ गोपाललाई ‘आँप’, बालेनलाई ‘लौरो’
एक्सन खबर
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिन थालेको छ । दलको आधिकारिक उम्मेदवारले दलकै निर्वाचन चिह्न पाउँदा स्वतन्त्र वा बागी उम्मेदवारले भने आयोगले यसअघि तय गरेको ४० प्रकारका चिह्न मध्येबाट पाइरहेका छन्।
निर्वाचनमा सर्वाधिक चर्चा भएको भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ‘भुइँकटहर’ निर्वाचन चिह्न पाएका छन् । उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले आज उक्त निर्वाचन चिह्न प्रदान गरेको हो ।
यही चिन्हबाट लिएर उनी निर्वाचन अभियानमा जुट्ने भएका छन् । भरतपुर महानगरपालिका पाँच दलीय गठबन्धनबीच तालमेलको क्रममा नेकपा (माओवादी केन्द्र) लाई परेपछि उनी असन्तुष्ट हुँदा बागी उम्मेदवार बनेका हुन् । उनलाई कांग्रेसले शुक्रबार साधारण सदस्यबाट समेत हटाएको छ ।
उनले विपीको आदर्श र भरतपुरमा रहेका कांग्रेसीजनको निष्ठालाई अंगाल्दै भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी रहेको स्पष्ट पारेका छन् । उनलाई पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, उनले मानेनन् र उम्मेदवार भएरै छाडे ।
अब ३० वैशाखमा हुने निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको भुइँकटहर चिह्न लिएर सहभागी हुने भएका छन् ।
यस्तै, काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र तर्फबाट उम्मेदवार बनेका बालेन्द्र शाह ‘बालेन’ले भने निर्वाचन चिह्न ‘लौरो’ पाएका छन् । चर्चित र्यापर उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो ।
धनगढीको उपमहानगरपालिकाको प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका उमेश यादव र उपप्रमुख पदमा उम्मेदवार बनेकी नमिता न्यौपानेले ‘लालटिन’ चिह्न पाएका छन् ।
सुनसरीकाे धरान उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सामाजिक अभियान्ता हर्क सम्पाङले लाैराे चुनाब चिन्ह पाएका छन् । पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले पनि लौरो चुनाव चिह्न पाएका छन् ।
आयोगले अन्य स्थानीय तहका स्वतन्त्र उम्मेदवारहरूलाई पनि ४० वटा मध्येबाटै निर्वाचन चिह्न प्रदान गरिरहेको छ ।
0 प्रतिकृया