तनहुँमा २५ र झापामा २३ प्रतिशत मत खस्यो
एक्सन खबर
तनहुँ । संघीयता कार्यन्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा तनहुँमा २५ प्रतिशत मत खसे छ । भने, यता झापामा २३ प्रतिशत मत खसेकाे छ ।
निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले मतदानमा मतदाता उत्साहजनक रूपमा सहभागी भएकाे जानकारी दिए । ‘अहिलेसम्म शान्तिपुर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको छ’, उनले भने ।
बिहानैदेखि तनहुँका सबै मतदान केन्द्रमा मतदाताको बाक्लाे उपस्थिति देखिन्छ । ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बिरामीलाई लाइन नबसिकन मतदान गर्ने व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त र बिरामी पनि मतदानमा उत्साहजजनक रुपमा सहभागी भएर मतदान गरिरहेका छन् । लौराे, ह्विलचियर र आफन्तको सहयोग लिएर उनीहरू आफ्नो मताधिकार प्रयोग गर्दै छन् ।
तनहुँको १० स्थानीय तहको ८५ वडामा १३६ मतदानस्थल र २९७ मतदान केन्द्र छन् । दुई लाख ४४ हजार ३४० मतदाताले ४४४ जना जनप्रतिनिधि छान्दैछन् ।
मतदान सम्पन्न गराउनलाई २९७ मतदान अधिकृत, २९७ मतदान सहायक अधिकृत, ५९२ जना सहायक कर्मचारी, २९७ सहयोगी र ८९१ जना स्वयंसेवक खटिएका छन् । यस्तै सुरक्षाका लागि नेपाल प्रहरी ६०५, म्यादी प्रहरी एक हजार ५५, ३२४ जना शसस्त्र प्रहरी र ४२५ जना नेपाली सेना खटिएका छन् ।
यता, प्रदेश १ काे झापामा पनि उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका २८६ मतदानस्थलमा रहेको ७५५ मतदान केन्द्रबाट धमाधम मतदान भइरहेको छ ।
बिहान १० बजेसम्म एक लाख ४२ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । यो कुल मतदाताको २३ प्रतिशत हो । झापामा आज ६८४ पदको लागि निर्वाचन भइरहेको छ ।
झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचति भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो ।
नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहति ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
झापामा २८६ वटा मतदानस्थल र ७५५ मतदान केन्द्रमा धमाधम मतदान भइरहेको छ । बिहानैबाट मतदानस्थलमा मतदाताको भिड लागेको छ ।मतदानस्थलमा मतदाताको उत्साहजनको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए । ६ लाख ४६ हजार २३४ जना मतदाता रहेको झापामा ८२ प्रतिशत मत खस्ने अनुमान गरेको छ ।
0 प्रतिकृया