Follow us:


Follow us

३ वैशाख २०८३, बिहिवार
३ वैशाख २०८३, बिहिवार


निजामति प्रशासनमा हार्दिकता र औपचारिकता

एक्सन खबर


निजामति प्रशासनमा हार्दिकता र औपचारिकता

कुमार दाहाल
हार्दिकता हृदयमा पैदा हुन्छ । हार्दिकतामा उत्प्रेरणा, मनोबल, उत्तरदायित्व, जिम्मेवारी  देखिन्छ । हार्दिकताले प्रश्न गर्दैन । उत्तरको खोजी गर्छ । र नयाँपन देखाउँछ । हार्दिकतामा उत्सुकता, उच्च नैतिकता हुन्छ । औपचारिकता मस्तिष्कबाट सुरू हुन्छ र तर्कमा गएर टुंगिन्छ । औपचारिकताले नतिजामा पनि प्रश्न गर्छ । मस्तिस्कले उत्तर खोज्दैन प्रश्न गर्छ । सार्वजनिक व्यवस्थापनका सबै सिद्धान्त र व्यवहार हार्दिकता र औपचारीकताको खोजीमा अभिमुख छन् । आजसम्म सार्वजनिक प्रशासनको सिद्धान्त यसैमा अल्झिएको छ ।

उत्प्रेरणा, मनोबल, सहभागिता, समन्वय, नेतृत्व, निर्णय प्रक्रिया, सबैमा हार्दिकता र औपचारिकता झल्किन्छ । देखिन्छ । जहाँ हार्दिकता छ । त्यहाँ उत्तरदायित्व छ । जिम्मेवारी छ । जहाँ औपचारिकता छ व्यवस्थापन गतिलो छैन । ढिलासुस्ती छ । चाकरी छ । भ्रष्टाचार छ । अनियमितता छ । मास्लाे, हेनरि फेवेल, सबै व्यवस्थापन भित्र हार्दिकता र औपचारिकताकाे संश्लेषण गर्छन् । औपचारिकतालाई हार्दिकतामा कसरी परिवर्तन गर्ने भन्ने विषयमा थुप्रै सिद्धान्त प्रतिपादन भएका छन् । उत्प्रेरणाको एक्स वाइ सिद्धान्त, आवश्यकताको सिद्धान्त, औपचारिकतालाई हार्दिकतामा परिणत गर्ने व्यवहारिक आधार हुन् ।

नेपालको निजामती सेवामा यी दुई तत्वको मिलन कहाँनेर छ । हेर्नु जरुरी छ । जसको अनुभूति नहुँदा निजामती सेवाले नतिजा दिन सकेको छैन । कर्मचारीतन्त्र जनताको नजरमा सच्चा सेवक बन्न सकेको छैन । सही नेतृत्व स्थापित पहिचान हुन सकेको छैन । झण्डै सात दशक पार गरेको निजामती सेवा आज हार्दिकता भन्दा औपचारिकतामा गुज्रिरहेको छ । कर्मचारी र नेतृत्व, राजनीति र प्रशासन, कर्मचारीतन्त्र र जनताको बिचमा हार्दिकता कायम हुन सकेको छैन । दुवैले एक आपसमा शंका गर्छन् । कानुन, नीति, नियमको औपचारिकता भित्र सेवा प्रभाव परेको छ । त्यहाँ दुबैको बीचमा मुस्कान छैन । दुबैको बीचमा विश्वास संकट छ ।

भारतमा मोदी प्रशासनलाई भारतीयहरु सम्मान गर्छन् । सि जिनपिङ टिभीमा उपस्थित हुँदा क्यान्टिनमा खाँदै गरेका नागरिकहरू उठेर आदर दर्शाउँछन् । अमेरिकनहरु आवर प्रेसिडेन्ट भन्छन् । यो नेतृत्वप्रतिको हार्दिकता हो । औपचारीकता होइन । सद्भाव हो । सद्भाव र विश्वासले कामलाई परिणाममुखी बनाउँछ । कहिलेकाहीँ हार्दिकताका लागि औपचारीकता पूरा गर्नुपर्छ । यस्तोऔपचारीकता स्वार्थ विहिन र ब्यक्ति, संस्था र नीतिको हितमा हुन्छ । यसलाई औपचारिकता भनिदैन । यो स्वयंमा हार्दिकता हो ।

हार्दिकता बनाउनलाई पैसा खर्च गर्नुपर्दैन । सकारात्मक सोच भए पुग्छ । कानुनलाई पूर्णरूपमा पालना गरिदिए पुग्छ । आफ्नो मान्छे र परको मान्छे नछुट्याइ दिए पुग्छ । कर्मचारीतन्त्र भित्र  राजनीति नगरिदिए पुग्छ । सरकारी खर्च शिर्षक अनुसार खर्च गरिदिए पुग्छ । राजनीतिले कर्मचारीका सरुवा बढुवा लगायतका विषयमा हस्तक्षेप नगरिदिए पुग्छ । कर्मचारीतन्त्रले राजनीतितिर हैन आफ्नै योग्यतामा ध्यान दिए पुग्छ ।

कर्मचारीले आफ्नो अगाडिका जनतालाई सेवा दिए पुग्छ । बिल भर्पाइमा कमिशन नलिए पुग्छ । जनताले कर्मचारीलाई यो राष्ट्र सेवक हो सम्म भनिदिए पुग्छ । तर औपचारिकताका लागि पैसा खर्च हुन्छ । समय खर्च हुन्छ । सम्मान खर्च हुन्छ । अभिमान समाप्त हुन्छ । त्यसैले हार्दिकता बढाउन औपचारीकता सिमित गरिदिए पुग्छ ।

कर्मचारीलाई तलबभत्ता, स्वास्थ्य, बीमा, उपचार खर्च, विदा सबै सुबिधा प्राप्त छ । हामी यो विषयमा गौरव गर्छौं ? जुन दिनदेखि गौरव गर्छौं त्यो दिनबाट हामी नतिजामा केन्द्रित हुन्छौं । जब हामी हार्दिक हुन्छौं । सेवाग्राही, जनताको आशिर्वाद प्राप्त हुन्छ । आत्मसन्तुष्टि प्राप्त हुन्छ । नतिजामा शंका हुँदैन । जब कुनै काम औपचारिकतामा पुरा गर्छौ । स्वार्थ हुन्छ । सरुवा, बढुवा, वृत्ति विकास, अतिरिक्त फाइदाको स्वार्थ रहन्छ । जब हार्दिकतामा काम गर्छौं हामीले परिश्रमको फल पाउँछौं । अब भनौ हामी कहाँ छौं ? अन्य सरकारी सेवामा पनि हार्दिकता भन्दा औपचारिकता बढेको देखिन्छ ।

कुनै कर्मचारी सरुवा माग्न आउँछ । उसलाई हामी प्रश्न गर्छौं । उसको उत्तर खोज्दैनौ । एकातिर सरुवा माग्दा अर्कातिर पठाइदिन्छौं । त्यसपछि कर्मचारीको कार्यसम्पादन औपचारीकता तिर जान्छ । आफ्नो संगठन प्रति हार्दिक हुदैन । जब वृत्तिविकासमा योग्यताले काम गर्दैन कर्मचारी संगठनप्रति हार्दिक हुन सक्तैन । भ्रष्टाचार लाग्छ भनेर निर्णय गर्दैनौं । विभागीय कारबाहीबाट बच्न जिम्मेवार पन्छाउँछौ । पार्दर्शिता हुँदा गोप्यता भङ्ग हुन्छ भन्ने डर मान्छौं । भोली काम लाग्छ भनेर भेटघाट गर्छौं । अवकाश भइहाल्छ नि भनेर वास्ता गर्दैनौ । अवकाशपछि लाभको पदको आशा गर्छौं। सरुवा बढुवा नहाेला कि भनेर राम्रो काम देखाउँछौं । कसैको भनसुनमा राम्ररी काम गरि दिन्छौं । तर भनसुन विनाको जनतालाई वास्ता गर्दैनौं । त्यहाँ हार्दिकता हुँदैन । यो औपचारिकतामा निजामति सेवाले स्पष्ट कार्यदिशा दिँदैन र नतिजामुखी बनाउँदैन ।
 
तपाईंलाई कसैले नमस्कार गर्छ, किनभने तपाईं पदमा हुनुहुन्छ । कुर्सी र पदमा बसुन्जेल हामीलाई हार्दिकता र औपचारिकता थाहा हुँदैन । जब कुर्सीबाट बाहीर जान्छौं । जब हामी स्वतन्त्र हुन्छौं । त्यसपछि हामीलाई हार्दिक र औपचारीकताको बोध हुन्छ । हामीले चिनेका मान्छेहरु बाटोमा उल्टो फर्किन्छन् । नचिनेका हरु त चिन्दै चिन्दैनन् । बुझ्नोस् म औपचारिक थिएँ ।

जब उल्टो फर्किनेहरु तपाईंलाई नमस्कार गर्न आउँछन् । तपाईंको कुर्सी र पद पछी पनि सम्मान गर्छन् । कुर्सी अघि र पछि समान व्यवहार गर्छन् । बुझ्नुहोस् तपाईं पद र कुर्सीमा हार्दिक हुनुहुन्थ्यो । तर हामीलाइ यसको लेखाजोखा कुर्सी र पदमा बसुन्जेल थाहा हुँदैन । समाज टाढा भइसकेको हुन्छ । हामी  कानुन, नियम, आदेश, चाकरीलाई जोगाउन थाल्छौं । अवसर पद र प्रतिष्ठाले होइन हाम्रो परिणामले हामीलाई उच्च बनाउँछ ।

औपचारिकताले प्रतिफल  राम्रो दिँदैन । पुँजिगत खर्च वर्षेनी झण्डै ३० प्रतिशतमाथि पुगेको छैन । वित्तीय र भौतिक प्रगतिमा उल्लेख्य सुधार भएको छैन । यसले भौतिक पूर्वाधार, विकास,  रोजगारी सिर्जना, गरिबी निवारण जस्ता विषयलाई प्रत्यक्ष प्रभाव पारेको छ । जहाँ हार्दिकता छ, त्यहाँ भ्रष्टाचार कम हुन्छ । पुँजिगत खर्च बढ्छ । व्यवस्थापन सुमधुर सम्बन्ध हुन्छ । देखिएको छ । यी विषय नेता, नेतृत्व, अनुभव, क्षमतामा पनि फरक पर्छ ।

निजामति प्रशासन भित्र हामी पुरानो नेतृत्वलाई स्मरण गरौं । पुराना नेतृत्व धरोहरहरुमा गौरव गर्छौं, किनभने उनीहरूमा हार्दिकता थियो । यसपछि पनि थुप्रै नेतृत्व जन्मिए । तर उनीहरूको नाम लिँदैनौ किन ? प्रश्न अस्वभाविक होइन । जसले इतिहासमा नाम लेखाउन चाहन्छन् जो आफैंमा गौरव हुन्छन् उनीहरुले हार्दिकता बढाउँछन् । जब हामी कामलाई सम्मान गर्छौं । औपचारीकता समाप्त हुन्छ । राम्रो र नराम्रो छुट्याउँछौं, व्यक्तिगत स्वार्थबाटबाट बच्छौं, हार्दिकता सुरु हुन्छ ।













0 प्रतिकृया