‘मेसी र अर्जेन्टिनाले विश्वकप जित्नेछन्’ सुवास नेम्बाङ
एक्सन खबर
काठमाडौं, १७ असार । पूर्व सभामुख तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्बाङले आगामी नोभेम्बरमा हुने कतार फिफा विश्वकप अर्जेन्टिनाले जित्ने विश्वास व्यक्त गरेका छन् ।
एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्बाङ अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीका समर्थक हुन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै नेम्बाङले आफू मेस्सी र अर्जेन्टिनाको शुभचिन्तक रहेको र अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वास रहेको बताए ।
‘यो वर्ष अर्जेन्टिनाले, मेस्सी विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ ।’ नेम्बाङले भने । यस्तै उनले विश्वकप आफ्नो घरमा या सकेसम्म कतारमै पुगेर हेर्न सुझाएका छन् । ‘कतारमा चार महिना पछि हुने फुटबल तपाई हामी, आ–आफ्नो घरमा बसेर होस् या यहि बसेर होस् । सकिएछ भने कतार पुगेर होस्, हेरौला ।’
यस्तै उनले आफु अहिले खेल्ने अवस्थामा नरहेपनि राति उठेर युरोपेली लिग हेर्दै आएको बताउँदै हाल मेस्सी बार्सिलोना छोडेर फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पीएसजी) गएकाले बार्सिलोना भन्दा पीएसजीको खेल हेर्न थालेको प्रतिक्रिया दिए ।
‘आजकाल आफै खेल्न नसक्ने भएपनि १२–१ बजे फुटबल हेर्छु । इंग्लिस प्रिमियर लिग, ला लिगा ।’ उनले भने–‘मेरो सारै मन पर्ने खेलाडी पीएसजी गयो । पीएसजी पुगेको हुँनाले बार्सिलोनाको हेर्न छोडेको छु । अर्जेन्टिना र पीएसजीको खेल हेर्छु ।’ मेस्सी प्रशंसक नेवाङले भने ।
कतारमा आगामी नोभेम्बरमा हुने विश्वकपका लागि ३२ देशले छनोट पार गरिसकेका छन् । अर्जेन्टिना दक्षिण अमेरिकाबाट दोस्रो स्थानमा रहँदै विश्वकपमा स्थान बनायो । यता, एसियाबाट ६ टिम सहभागी छन् । नेपाल भने दोस्रो चरणबाट माथि बढ्न सकेन ।
0 प्रतिकृया