Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


विजयकुमार गच्छदार सहित नाै जनाकाे उम्मेदवारी विरूद्ध सर्वाेच्चमा रिट

एक्सन खबर
असोज, २७, २०७९


विजयकुमार गच्छदार सहित नाै जनाकाे उम्मेदवारी विरूद्ध सर्वाेच्चमा रिट

काठमाडाैं, २७ असाेज । मंसिर ४ गते हुन गइरहेकाे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका सुनसरी क्षेत्र नं. ३ का उम्मेदवार विजयकुमार गच्छदार सहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता अनिल आचार्यले कांग्रेस नेता विजयकुमार गच्छदारसहित गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरेका हुन् ।

आचार्यले सुनसरी–३ का कांग्रेस उम्मेदवार गच्छदार, तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशी, चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध भ्रष्टचार मुद्दा रहेको भन्दै रिट हालेका छन् । यस्तै, सिन्धुपाल्चोक १ (क) बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेकाे, महोत्तरी १ कि उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको रिटमा उल्लेख गरिएको छ ।

यता रौतहट–३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको पनि रिटमा उल्लेख छ ।  सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५ (ख) का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेकाे रिट निवेदक आचार्यले उल्लेख गरेका छन् ।

आचार्यले दिएकाे रिटमा सर्वाेच्चले असाेज ३० गते सुनुवाइका लागि पेशी ताेकेकाे छ । रिटमा प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरे पनि उनीहरु स्वच्छ छविका नभएको उल्लेख गरिएकाे छ ।

कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको भन्दै रिटमा संशोधनको माग पनि गरिएको छ ।













0 प्रतिकृया