पार्टीमा आन्तरिक समस्या छैन्: डाक्टर सुनिल शर्मा
एक्सन खबर
बेलबारी, २० कात्तिक । पार्टीमा कुनै आन्तरिक समस्या नरहेको मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उमेद्वार डाक्टर सुनील शर्माले बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले १२ लाख क्रियाशील सदस्य रहेको पार्टीमा एकाध ब्यक्तिको असन्तुष्टिलाई सामान्य मान्नु पर्ने बताए ।
उनले भने–‘पार्टीले आधिकारिक उमेद्वार बनाएपछि म मान्दिन भन्न पाइन्छ । तर, लोकतान्त्रिक पार्टीको सदस्य बनेर म मान्दिन भन्न मिल्दैन ।’ पार्टीमा योगदान दिएका, लामो समय सम्म जेल नेल भोगेर काम गरेका सम्पूर्ण अग्रजहरू प्रति उनले आदर भाव प्रकट गर्दै भने–‘पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा भयो । त्यो पनि लोकतन्त्रको सुन्दर पक्ष हो । लोकतन्त्रको अभ्यासमा प्रतिस्पर्धा हुन्छ । कोही हार्छन, कोही जित्छन् । हामी कहाँ पनि त्यही भयो । तर, हार्दैमा अवसर सकिने र जित्दैमा सबै अवसर उसैले पाउने होइन ।’
डाक्टर शर्माले आफू निर्वाचनको मैदानमा आएकै दिन सबैसँग कान समाएर माफि मागेको संस्मरण गर्दै भने –‘अझै पनि साथीहरूसँग संवादको ढोका बन्द भएको छैन । सबै साथीहरूसँग हातेमालाे गरेर अगाडी बढ्न म तयार छु ।’
मिडियामा आफू बिरुद्ध आएका समाचारको कुनै टिकाटिप्पणी नगर्ने बताउँदै उनले थपे–‘मैले सयौं विद्यार्थीलाई निःशुल्क पढाएँ । डाक्टर, स्वास्थ्य प्राविधिक बनाएँ । मृत्युसँग संघर्ष गरिरहेकाहरूलाई एक रुपियाँ नलिई उपचार गराएँ । विरामीकोे कुरुवालाई समेत खान दिएर उपचारमा सहयोग गरेँ । मैले न बिरामीको पार्टी सोधेँ ? न कुन चिन्हमा मत हाल्छौ भनेर नै सोधेँ ।’
डा. शर्माले मोरङका गाउँ गाउँमा एम्बुलेन्स पुर्याएर जनतालाई घरदैलाेमै स्वास्थ्य सेवा पुर्याएकाे, स्वास्थ्य उपचार र चिकित्सा शिक्षामा अल्पसंख्यक गरिव र सीमान्तकृत वर्गका सन्थाल, मुसहर, डोम, बातरको पहुँच पुर्याएको पनि उल्लेख गरे । ‘तराईका हुन वा हिमाल र पहाडका दलित समूदायका विपन्न विद्यार्थीहरूलाई पूर्ण छात्रवृतिमा पढाइरहेको छु । यि सबै सामाजिक गतिविधिको समाचार किन आउँदैन ?’ डा. शर्माले भने ।
पूर्वाग्रही भएर लेखेको समाचार र पत्रकारिता लामो समयसम्म नटिक्ने उनको भनाई छ । शर्माले केही गर्न नसक्नेहरूले लगाउने आरोपका पछि लाग्नुको अर्थ नरहेको बताए । डा. शर्माले नाेबेल शिक्षण अस्पताल र काठमाडाैंकाे काठमाडाैं मेडिकल कलेजबाट गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर चलाइ रहेका छन् ।
0 प्रतिकृया