Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


डा. सुनिल शर्मा दिनभरः कोणसभालाई सम्बोधन, मत माग्न घरघर

एक्सन खबर
कार्तिक, २१, २०७९


डा. सुनिल शर्मा दिनभरः कोणसभालाई सम्बोधन, मत माग्न घरघर

पथरीशनिश्चरे, २१ कार्तिक । मोरङको क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको उम्मेद्वारको रुपमा रहेका डा. सुनिल शर्मा आइतबार दिनभर पथरीशनिश्चरेको वडा नम्बर ८ र ९ मा गरी १० वटा कोणसभामा व्यस्त रहे । उनी कोणसभामा मात्रै सीमित रहेनन् सोही क्रममा मतदाताको घरघरमा पुगेर मत माग्ने काम पनि गरे ।

कोणसभामा बोल्ने पालो नआउँदा वा आफ्नो बोल्ने पालो सकिएपछि कार्यकर्ताका साथमा उनी मत माग्न व्यस्त हुन्थे । शर्माले मत मात्रै मागेनन् आफूले उपचार गराएका बिरामी र ज्येष्ठ नागरिकसँग आशीर्वाद पनि मागे । आफूले जितेर गएपछि अझ बढी जनताको सेवा गर्ने बताउँदै सो अवसर दिलाउन उनले मतदातासँग अनुरोध गरे ।

कतै कालोपत्रे त कतै धुलो अनि कतै ग्राभेल बाटोको यात्रा गर्दै आइतबार बिहान ८ बजे उनी वडा नम्बर ८ को सखुवारामा पुगे । खप्तरी बस्नेत बन्धु कुल सुधार समितिको आयोजनामा भएको मतदाता भेटघाटपछि आयोजित सभालाई उनले सम्बोधन गरे । सोही क्षेत्रमा घर भएका शेखरचन्द्र थापा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर ३ क बाट प्रदेश सभाका उम्मेद्वार भए पनि बिरामी भएकाले उपचाररत् रहेका छन् । थापाको अनुपस्थितिमा आफू मत माग्न आएको जनाउँदै शर्माले सो क्षेत्रका समस्यामा आफूभन्दा थापा जानकार भएकाले धेरै समस्याको समाधान थापामार्फत् हुने र त्यसमा आफूले सक्दो सहयोग गर्ने जनाए ।

९ बजे वडा नम्बर ९ को पुलचोकमा डा. शर्मा पुग्दा कोणसभा शुरु भइसकेको थियो । सो कोणसभालाई सम्बोधन गर्दै शर्माले जितेर गएका भानुभक्त ढकालले जनताको सेवा गर्नुको साटो भ्रष्टाचार गरेको तर हारेर गएपनि आफूले समाजसेवा गरेको बताए । सुकुम्बासी समस्याको समाधान गर्ने र जितेर गएपछि सचिवालय नै राखेर गुनासा सुन्ने बताए । पैसा नभएर उपचार नपाई मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउँदै सरकारले सो काम गर्न नसके निजी स्वास्थ्य संस्था मार्फत् भएपनि आफूले गर्ने उनको दावी छ ।

वडा नम्बर ९ को महेन्द्रचोकमा भएको कोणसभालाई पौने १० बजे सम्बोधन गरेका शर्मालाई नेपाली हातेमालो संस्थाका प्रतिनिधिले भेट गरे । आफ्नो संस्थाले शर्माको पक्षमा माहोल बनाउने संस्थाका अध्यक्ष टेकबहादुर कटुवालले बताए । शर्माले दीनदुःखीलाई गरेको सहयोग सह्रानीय भएकाले शर्माको पक्षमा जनमत बनाउन लागिपर्ने कटुवालको भनाइ थियो ।

सवा १० बजे वडा नम्बर ९ को मगर टोलको कोणसभालाई सम्बोधन गरेका शर्माले सो टोलमा समस्याको रुपमा रहेको कटान र डुबानको समस्याको समाधान तटबन्ध निर्माणमार्फत् गरिने बताए । पहिलो संविधान सभाका सभासद नेकपा माओवादी केन्द्रका लालबहादुर सुस्लिङ मगरले शर्माको पक्षमा मत मागे ।

११ नबज्दै वडा नम्बर ९ को काङ्सोरे चोकमा भएको कोणसभालाई दोस्रो संविधान सभाका सभासद चण्डीप्रसाद राईले पनि सम्बोधन गरेका थिए । एमालेबाट सभासद बनेका उनी अहिले एकीकृत समाजवादीमा आबद्ध छन् । नेकपा एमालेले बहुमत ल्याए पार्टी अध्यक्ष ओलीले संविधानमाथि नै प्रहार गर्ने खतरा देखिएको उनले आरोप लगाए ।

शर्माले कोणसभालाई सम्बोधन गर्दै क्षेत्र नम्बर ३ मा नेकपा एमालेको क्लीन स्वीप हुने बताए । राजतन्त्र फ्याँके पनि ओलीले निरंकुशताको पराकाष्टामा पुगेर सत्ता चलाएकाले झण्डै दुई तिहाइको सरकार पनि संकटमा परेको उनले सुनाए । अब भानुभक्त ढकालजस्ता ‘टुरिस्ट’ होइन स्थानीय व्यक्तिको नेतृत्वमा गर्व गर्नलायक विकासका काम क्षेत्र नम्बर ३ मा हुने बताउँदै आफूलाई मत दिन उनले अनुरोध गरे ।

वडा नम्बर ९ को अन्तिम कोणसभा साढे ११ बजे शनिश्चरे चोकमा भएको थियो । सभालाई सोही स्थानमा घर भएकी नेकपा माओवादी केन्द्रकी समानुपातिक प्रदेश उम्मेद्वार गीता तिम्सिनाले सम्बोधन गरेकी थिइन् ।

‘यही पल्लाघरको भर्याङबाट सम्बोधन गर्दै टुरिस्ट उम्मेद्वारलाई हराउनुहोस् भनेको थिएँ, तर १९०७ जनाले मान्नुभएन’, शनिश्चरे चोकको पूर्वबाट पश्चिम निरौला किराना पसलतर्फ फर्किएर सम्बोधन गर्दै डा. शर्माले भने, ‘चुनाव जितेर गएपछि काठमाडौंमा बसेका र भ्रष्टाचारमा लिप्त रहेका तिनै नेता अहिले फेरि उम्मेद्वार बनेका छन् । फेरि पनि उनैलाई जिताउने कि हारेर गए पनि निरन्तर परोपकारी काममा लागेको व्यक्तिलाई जिताउने भन्ने मतदाताको हातमा छ ।’

सभालाई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला तथा क्षेत्र नम्बर ३ की समानुपातिक प्रदेश उम्मेद्वार कृष्णकुमारी बिकले पनि सम्बोधन गरेका थिए । वडा नम्बर ८ को सोमबारेमा साढे १ बजे, शुक्रबारे बजारमा सवा ३ बजे, किरात माङहिममा ४ बजे तथा मंगलबारेमा पौने ५ बजे भएका सभालाई शर्माले सम्बोधन गरेका थिए । मंगलबारेको कोणसभालाई प्रतिनिधि सभाका नेपाली कांग्रेसका समानुपातिक उम्मेद्वार वसन्त भट्टराईले पनि सम्बोधन गरेका थिए । सो सभालाई गीता तिम्सिना, कृष्णकुमारी बिकलगायतले पनि सम्बोधन गरेका थिए ।

सो कोणसभाको समापनपछि पनि शर्मा मतदाताको घरघरमा पुग्दै मत मागेका थिए ।














0 प्रतिकृया