डा. सुनिल शर्माको वाचाः घुस पनि खान्नँ, तलब पनि लिन्नँ
एक्सन खबर
बेलबारी, २२ कार्तिक । मोरङको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका उम्मेद्वार रहेका डा. सुनिल शर्माले आफू घुस पनि नखाने र तलब पनि नलिने वाचा गरेका छन् । चुनावी घरदैलो अभियानका क्रममा रहेका उनले बेलबारीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘पशुपतिनाथको कसम खाएर हामी भन्छौँ, जनताको ट्याक्स उठाएर भकारीमा राखेको पैसा हामीले घुस खानु भनेको मेरी आमाको रगत खानुजस्तै हो’, सभालाई सम्बोधन गर्दै उनले भने, ‘अब तपाईँलाई चाहियो कस्तो नेता ? घुस पनि खान्नँ । तलब पनि खान्नँ भनेर आजै घोषणा गर्छु ।’
शर्माका प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकालप्रति लक्षित गर्दै उनले भने, ‘यो टेलिभिजनमा आउने भाषण हो । भानुभक्त दाइलाई सुकुम्बासी काण्ड काउसो भएजस्तै मलाई हुने भाषण हो । सांसद भएबापत संसदीय कोषबाट आउने तलब म खान्नँ ।’
लोकतान्त्रिक गठबन्धनमा नेपाली कांग्रेसका साझा उम्मेदवार डा. शर्मा मोरङ ३ बाट मंसिर ४ को निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र समाजसेवा मार्फत जनता माझ लोकप्रियता कमाएका डा. शर्मा मंसिर ४ पछि संसदमा प्रवेश गर्ने निश्चत जस्तै छ ।
0 प्रतिकृया