भानुभक्तले आश्वासन मात्रै दिएः मोरङ क्षेत्र नम्बर ३ का मतदाता
एक्सन खबर
पथरी, २४, कार्तिक । मोरङको क्षेत्र नम्बर ३ का मतदाता निवर्तमान सांसद तथा पूर्वमन्त्री भानुभक्त ढकालसँग रुष्ट छन् । गत स्थानीय तहको निर्वाचनमा विजयी भएर सिंहदरबार गएपछि मतदातालाई नसम्झिएको भन्दै उनीहरुले यसपटक नतिजा उल्टाउने बताएका छन् ।
‘५ वर्षअघि डा. सुनिल शर्मालाई जिताउन सकेनाैं’, पथरीशनिश्चरे ८ की सीता राईले भनिन्, ‘भानु ढकालले आएर सबै जनतालाई आश्वासन दिए तर जितेर गएपछि फर्किएर आएनन् । उनी त टुरिस्ट पो रहेछन् । यसपटक डा. सुनिल शर्मालाई जिताएर देखाउँछौं ।’
‘यहाँका जनता डा. सुनिल शर्मा आउने भए भनेर रमाइरहेका छन् । स्वर्ग यहीँ हुने भो भनिरहेका छन्’, पथरीशनिश्चरे ८ शुक्रबारेका ८१ वर्षीय दलबहादुर कटुवालले भने, ‘हामी जनताका आँखा फुटेर ५ वर्ष अघि सूर्यमा भोट दियौँ । ढुङ्ग्रामा गाई दुहेछाैं।’ सुनिल शर्माले जिते आफ्नो भाग्य खुल्ने कटुवालले बताए ।
शर्माको गुनलाई बिर्सिए मतदाताका लागि अँध्यारा दिन शुरु हुने उनको भनाइ थियो । शर्माका साथै संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आफ्ना छिमेकीलाई अनुरोध गर्ने उनले बताए ।
अर्का मतदाताले सुनिल शर्माले ठाउँठाउँबाट बिरामीलाई बोकेर लगेर उपचार गराएको स्मरण गरे । मर्न लागेका बिरामीलाई समेत उनले बचाएको भन्दै सुनिल शर्माजस्तो गाउँको मान्छेलाई ठाउँमा पुर्याउँदा मात्रै आफूहरु भेट्न जान पनि सजिलो हुने जिकीर गरे । अरु सबै उम्मेद्वारलाई खेद्नुपर्ने भन्दै अरुले धनीपूर्जा दिनेलगायतका झुटा आश्वासन मात्रै दिएको बताए ।
‘विगतमा भानुभक्त ढकालले बोलेको काम गर्न सकेनन् । उनले गरेका कर्तुतका कारण यसपटक हाम्रो मत उनलाई जाँदैन । हामी सुनिल शर्मालाई जिताउन लागि परेका छौँ’, सुकुम्बासी बस्तीका मतदाता बालकुमार मगरले भने, ‘उनले बोलेका कुराहरु गलत साबित भएकाले आम जनसमुदायले उनले भनेका कुरामा विश्वास गर्न सक्ने अवस्था छैन । उनी ढाँट र छलछाम गर्ने कार्यमा अघि सरेकाले यसपटक मत दिन नहुनेमा हामी पुगेका हौँ ।’
0 प्रतिकृया