वाम गठबन्धनका उम्मेद्वारहरुलाई माझी समुदायले मत दिने
एक्सन खबर
कानेपोखरी, २८ कार्तिक । मोरङ क्षेत्र नं. ३ (१) मा माझी समुदायको आमभेलाले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गर्ने निर्णय गरेको छ ।
लोकतान्त्रिक वाम गठबन्धन निर्वाचन प्रचारप्रसार समिति प्रदेश क ले आयोजना गरेको प्रचारप्रसार कार्यक्रममा प्रमुख अतिथि एवम् लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा मोरङ ३ उम्मेदवार डा.सुनिल कुमार शर्मा (न्यौपाने) ले आफ्नो मीत माझी समुदायको भएको बताए ।
माझी समुदायको धर्म, संस्कार, संस्कृति र भाषाको संरक्षणका लागि सबैखाले सहयोग गर्ने बताउँदै डा. शर्माले माझी समुदायको सामाजिक एवम् राजनीतिक स्थितिको बारेमा पूर्ण जानकार भएको जिकीर गरे । ‘तपाईहरुको सामाजिक, राजनीतिक अवस्थासँग म परिचित छु, तपाईहरुको हितको लागि काम गर्न प्रतिबद्धता जनाउँछु ।’ डा. शर्माले भने ।
माझी समुदायको वृद्धि विकास र संकटमा परेको पेशाको संरक्षण गरी वैकल्पिक रोजगारको प्रबद्र्धन गर्न सहयोग गर्ने शर्माले बताए । माझी समुदायका बालबालिकाहरू चिकित्सा शिक्षा लिन चाहेर पनि नपाएको भए आफू तयार भएको उनले बताए । ‘सन्थाल समुदायका दिनेश हस्दा डाक्टर हुन सक्ने, माझी समुदायको नसक्ने हुन्न’, शर्माले भने, ‘तर, पढ्न लगनशील हुनपर्छ ।’
कार्यक्रममा बोल्दै माओवादी केन्द्रीय सदस्य तथा प्रदेश नं. १ की समानुपातिक उम्मेदवार गीता तिम्सिनाले माओवादी पार्टीले माझी लगायतका हिजो राज्यबाट उत्पीडन र विभेदको सिकार भएको आदिवासी जनजाति समुदायको मुक्ति र समानताको मुद्दा उठाएकै कारण आज संविधानले सबैलाई सम्बोधन गरेको बताइन् ।
मोरङ ३ (१) का प्रत्यक्ष तर्फका उम्मेद्वार मानबहादुर लिम्बूले निर्वाचित भएपछि आफूले पाउने पारिश्रमिक माझी लगायतका समुदायको शिक्षा स्वास्थ्य लगायतको चौतर्फी विकासमा खर्चने घोषणा गरे ।
0 प्रतिकृया