डा. सुनिल शर्माले यी कारणले जित्दैछन् चुनाव
एक्सन खबर
खेमचन्द्र अधिकारी
विराटचोक, १ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारको अन्तिम तयारीमा दलहरु छन् । अबको केही समयपछि दलहरु तथा अन्य जोसुकैले पनि निर्वाचनसम्बन्धी सामग्री प्रकाशन, प्रशारण गर्न तथा सामाजिक सञ्जालमा पोस्ट र लाइक गर्न पाउँदैनन् । त्यसैले अन्तिम समयमा आफ्ना योजना सुनाउन दलका नेता र कार्यकर्ता लागिरहेका छन् ।
मोरङको क्षेत्र नम्बर ३ मा प्रचारप्रसार धेरै भएको देखियो । यो क्षेत्र यस्तो क्षेत्र हो जहाँ प्रतिनिधि सभाको लागि प्रदेश नम्बर १ मा सबैभन्दा धेरै ३१ जना उम्मेद्वार खडा छन् । जसमध्ये १९ जना त स्वतन्त्र छन् । धेरै स्वतन्त्र उम्मेद्वार नेपाली कांग्रेस वा नेकपा एमालेको वागी उम्मेद्वारका रुपमा रहेका छन् । ती बागी उम्मेद्वारले गर्दा राप्रपाकी रेखा थापालाई फाइदा पुग्ने र उनले बाजी मार्ने धेरैको अनुमान थियो ।
तर, प्रचारप्रसारमा उनी सफल भइनन् । यद्यपि उनको अघिपछि धेरै मतदाता झुम्मिए । तर, ती मतदाता मत हाल्ने पक्षमा थिएनन् । हिरोइनसँग फोटो र सेल्फी खिच्न आतुर मतदाता बढी थिए । जसका कारण उनले सोचेजस्तो मत नआए पनि १० हजारभन्दा बढी नै मत आउने धेरैको अनुमान छ ।
नेकपा एमालेका निवर्तमान सांसद तथा पूर्व कानुन, स्वास्थ्य तथा पर्यटनमन्त्री भानुभक्त ढकालले फेरि चुनाव जित्ने अनुमान भएपनि पछिल्लो समय उनको आलोचना बढी हुन पुग्यो । ढकाल स्वास्थ्यमन्त्री हुँदा खरीद भएको स्वास्थ्य सामग्री खरीदमा व्यापक भ्रष्टाचार भएको आरोप उनीमाथि लाग्यो ।
कोरोनाकालमा सञ्चारकर्मीले उनीसँग प्रतिक्रिया लिन खोज्दा घरमा पाहुना आएका छन् भन्दै पन्छिए । जसका कारण उनी बढी आलोचित भए । जुन अहिले निर्वाचनमा विपक्षीलाई चुनावी एजेण्डा नै भएको छ । जसका कारण नेकपा एमालेकै मतदाता र कार्यकर्ता उनीप्रति रुष्ट हुन पुगे । उनका कार्यकर्ता उनीसँग परपर हुन थाले । गत निर्वाचनमा उनले ल्याएको मत पनि यस पटक खोसिने निश्चित देखिएको हुँदा यसपटक ३३ हजार मत पनि नकट्ने एमालेकै कार्यकर्ता अनौपचारिक कुराकानीको क्रममा बताउने गर्छन् ।
उता, एमालेको गढमा उम्मेद्वारी दिएपनि अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका डा. सुनिल शर्माले नसोचेको मत ल्याए । सो मत बढाउनमा शर्माको उल्लेख्य भूमिका रहेको स्थानीय बताउँछन् । गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने, आर्थिक अवस्था कमजोर भएकालाई ५० प्रतिशतदेखि शतप्रतिशत छुटमा उपचार गराउने, विपन्न र सीमान्तकृत वर्गका सन्तानलाई निःशुल्क उच्च शिक्षादेखि एमबीबीएससम्म अध्ययन गराउने काम गरेका कारण शर्माले सबैको मन जित्दै गए ।
स्वास्थ्यमन्त्री हुँदा ढकालले गरेको कामभन्दा कयौँ गुणा बढी काम शिक्षा र स्वास्थ्यको क्षेत्रमा शर्माले गरेर देखाइदिए । जसले गर्दा डा. शर्मा काम गर्न चाहन्छन् र काम नगर्ने तर कुरामात्रै गर्ने नेतामा उनी पर्दैनन् भन्नेमा मतदाता विश्वस्त भए । जसका कारण मतदाता उनीप्रति आकर्षित हुन पुगे । त्यसैबेला ढकाल आलोचित भएपछि शर्माको पक्षमा माहोल झन् बढ्न पुग्यो ।
झण्डै डेढ लाख मतदाता भएको मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा लगभग १ लाख मत खस्ने र ४५ हजारभन्दा बढी मत शर्माले पाउने अनुमान विश्लेषकहरुको छ । शर्माको केही मत राप्रपाकी थापाले र स्वतन्त्र उम्मेद्वार जयराज संयोक, गणेश पोखरेललगायतले काट्ने अनुमान गरिएको छ ।
शर्मालाई गठबन्धनका दलको भर भएपनि आफ्नै दलका कार्यकर्ताको डर थियो । सुन्दरहरैंंचाका निवर्तमान मेयर शिवप्रसाद ढकाललगायत कांग्रेसभित्रकै एउटा गुट शर्माको समर्थनमा नखुलेपछि अन्तर्घात हुने हो कि भन्ने त्रास भएपनि पछिल्लो समय असन्तुष्ट समूह शर्माको पक्षमा खुलेर लागेको छ । चुनावी अभियानमा हिँड्ने तथा शर्मालाई मत माग्नुका साथै सामाजिक सञ्जालबाट पनि मत माग्न थालेकाले अन्तर्घात नहुनेमा शर्मा ढुक्क छन् ।
यसरी सबैतिरबाट सकारात्मक माहोल बन्दै गएकाले शर्माको जीत निश्चित देखिएको हो ।
0 प्रतिकृया