Follow us:


Follow us

१६ माघ २०७९, सोमवार
१६ माघ २०७९, सोमवार


एमालेको विजय र्याली माथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण, ७ जना घाइते

एक्सन खबर
मंसिर, १४, २०७९


एमालेको विजय र्याली माथि कांग्रेस कार्यकर्ताद्वारा आक्रमण, ७ जना घाइते

इटहरी, १४ मंसिर । सुनसरीको दुहवीमा नेकपा एमालेको विजय जुलुसमा कांग्रेस कार्यकर्ताले आक्रमण गर्दा सात जना घाइते भएका छन् । सुनसरी क्षेत्र नं. ३ अन्तरगत पर्ने दुहवी नगरपालिका वडा नं. ९ छातावेलीमा नेकपा एमालेका उम्मेदवारहरुको विजय र्याली लैजाने क्रममा कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेको बताइएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार विजय र्याली वडा नं. ९ का वडाध्यक्ष मेहन्दी हुसैनको घर अगाडी पुग्दा झडप भएको हो । झडपमा सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा एमाले कांग्रेस दुवैका कार्यकर्ताहरु छन् । झडपमा लाल मोहम्मद रैन, महफुज आलम, मोहम्मद ममताज, कुर्वान मियाँ, तवरेज आलम, नुर आलम रहेका छन् ।

उनीहरुको टाउको, ढाढ, खुट्टा तथा पेटमा चोट लागेको छ । मोहम्मद मुद्दिनलाई विराटनगर स्थित न्यूरो अस्पताल लगिएको छ । अन्यको दुहवी स्थित सुनसरी सामुदायिक हस्पिटल, जिवनज्योती हस्पिटलमा उपचार भइरहेको छ ।

एमालेको विजय र्यालीमाथि दुहवी ९ का वडाध्यक्ष मेहन्दी हुसैनले आक्रमण गर्न लगाएको एमाले कार्यकर्ताहरुको आरोप छ । हुसैन कांग्रेसबाट गएको स्थानीय निर्वाचनमा विजयी भएका थिए । विजय र्यालीमाथि एक्कासी ढुंगा तथा लाठी प्रहार भएको हुँदा र्यालीमा सहभागी महिला तथा बृद्धहरु समेत घाइते भएका छन् ।

एमाले नेता मुस्तकिम मियाका अनुसार सो क्षेत्रबाट प्रतिनिधि सभामा विजयी भएकी प्रतिनिधि सभाकी उम्मेदवार भगबती चौधरी, प्रदेश सभाका रामदेव यादव, रोहीतबहादुर कार्की सहितको विजय र्यालीमा कांग्रेस कार्यकर्ताहरुले आक्रमण गरेका हुन् ।

इलाका प्रहरी कार्यालय दुहवीका अनुसार घटनालाई सामान्य बनाउन अहिले उक्त क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

















0 प्रतिकृया