Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


वर्तमान जनादेशले इतिहासकै अस्थिर अवस्था सिर्जना भयाेः केपी शर्मा ओली

एक्सन खबर
मंसिर, २८, २०७९


वर्तमान जनादेशले इतिहासकै अस्थिर अवस्था सिर्जना भयाेः केपी शर्मा ओली

काठमाडौं, २८ मंसिर । गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई विकास अभियन्ताका रूपमा काम गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् । उनले आर्थिक काममा पारदर्शी र स्वच्छतालाई विशेष रुपमा ध्यान दिन आग्रह गरे ।

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टीबाट निर्वाचित गाउँपालिकाका जनप्रतिनिधिहरूको भेटघाट कार्यक्रममा अध्यक्ष ओलीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरूलाई जनताका काममा नमूना र आदर्श जनप्रतिनिधिका रूपमा काम गर्न निर्देशन दिए । उनले विकास र समृद्धिका लागि एमालेले देशमा राजनीतिक स्थायित्व र स्थिरता चाहे पनि वर्तमान जनादेशले मुलुकमा इतिहासमै सबैभन्दा अस्थिर अवस्था सिर्जना गरेको बताए ।
 
‘निर्वाचनमा हामीले देश बनाउन स्पष्ट नीति, दृष्टिकोणका साथ एमालेलाई बहुमत मागेका थियौं तर बहुमत प्राप्त गर्ने गरी जनतालाई सचेत गराउन सकेनछौं ।’ ओलीले भने । निर्वाचनमा जनमत डाइभर्ट भएको सन्दर्भमा अध्यक्ष ओलीले भ्रममा परेको असचेत जनता खतरनाक हुने बताउँदै जनतालाई सचेत बनाउने अभियानमा लाग्नुपर्ने बताए ।

उनले पार्टीको पनि स्थानीय नेतृत्व तहमा रहेका जनप्रतिनिधिलाई जनता र कार्यकर्ताको मनोबल उठाउने गरी काम गर्न निर्देशन दिँदै भने ‘शालिनतापूर्वक जनताको सेवक भएर काम गर्नूस् । काम गर्दा सामुहिक तरिका अपनाउनूस् । पार्टीसँग निरन्तर समन्वयमा काम गर्नूस् ।’

चौतर्फी घेराबन्दी र सत्ता गठबन्धनमा रहेका दलहरूबाट बुथ कब्जा गरी जनताको मताधिकार लुटिँदा पनि लोकप्रिय मत एमालेले प्राप्त गरेको र जनताले एमालेप्रति अत्यन्त स्नेह प्रकट गरेको उनको भनाई थियो । अध्यक्ष ओलीले देशको अर्थतन्त्र ओरालोतर्फ लागिरहेको समाज साँस्कृतिक रूपमा विश्रृंखलित हुँदै गएको उल्लेख गर्दै गठबन्धनमा रहेका दलहरूलाई यसप्रति कुनै चिन्ता नरहेको पनि बताए । ‘यिनीहरुलाई प्रधानमन्त्री को बन्ने भन्ने मात्र चिन्ता छ ।’ ओलीले भने  

कार्यक्रममा महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधिहरुलाई जनतासँगको सम्बन्ध घनिष्ट बनाई काम गर्न निर्देशन दिए । उनले स्थानीय निर्वाचनमा जारी गरिएको घोषणापत्रलाई मार्गदर्शनका रूपमा लिएर काम गर्न र यस अघि काठमाडौंमा भएको भेलाबाट जारी २० बुँदे काठमाडौं संकल्पलाई जीवनशैली बनाउन निर्देशन दिए ।

विगतमा जनप्रतिनिधिले स्थानीय तहमा गरेका विकास निर्माण र जनताका सरोकारका कामलाई पार्टीको विषय बनाउन नसक्नु कमजोरीका रूपमा रहेको बताउँदै महासचिव पोखरेलले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले आफूलाई पार्टीको पनि प्रतिनिधि सम्झेर काम गर्नुपर्ने बताए ।

महासचिव पोखरेलले गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिका जितेको ठाउँमा अहिले एमालेको भोट घटेको बताउँदै यसबाट जनताको अपेक्षा र त्यसको आपूर्तिमा खाडल छ, तालमेल भएन भन्ने बुझेर काम थाल्नुपर्ने धारणा राखे । उनले बर्ग सङ्घर्ष गर्नुपर्ने मुख्य थलो संसदीय निर्वाचन भएको र चुनावका समयमा पार्टीविरूद्ध लाग्नेहरू पार्टीको कार्यकर्ता हुन नसक्ने बताउँदै पार्टीमा शुद्धिकरण आवश्यक रहेको पनि जनाए ।

 













0 प्रतिकृया