Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


निर्वाचनमा अन्तर्घातगरेकाे भन्दै लामा, आचार्य र खरेललाई कारबाही गर्न सिफारिस

एक्सन खबर
पौष, ३, २०७९


निर्वाचनमा अन्तर्घातगरेकाे भन्दै लामा, आचार्य र खरेललाई कारबाही गर्न सिफारिस

काठमाडाैं, ३ पुष । नेपाली कांग्रेस काभ्रेले मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरेको भन्दै दुई जना केन्द्रीय सदस्य र क्षेत्रीय सभापतिलाई कारबाही गर्न सिफारिस गरेको छ ।

काभ्रे जिल्ला समितिले केन्द्रीय अनुशासन समिति समक्ष केन्द्रीय सदस्यद्वय मधुप्रसाद आचार्य र गणेश लामा तथा प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको हो ।

उनीहरुमाथि प्रतिनिधि सभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका पूर्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई र जिल्ला सभापति तीर्थ लामालाई अन्तर्घात गरी हराउन सहयाेग गरेकाे आरोप छ । कांग्रेस काभ्रेले आचार्य र लामा निर्वाचन प्रचार अभियानमा एक दिन पनि मत माग्न नहिँडेको साथै, विपक्षी उम्मेदवारलाई मत मागेकाले कारबाही गर्न केन्द्रमा सिफारिस गरेको जिल्ला सभापति तिर्थ लामाले बताए ।

केन्द्रीय सदस्य आचार्यले आफू प्रदेशभरको जिम्मेवारीमा रहेकाले व्यस्त भएको भन्दै पार्टी र गठबन्धनका उम्मेदवारलाई मत नमागेको, निकट रहेका वडा सभापति र वडा अध्यक्षहरुको बैठक नै बोलाएर गोकुल बाँस्कोटालाई मतदान गर्न दबाव दिएको र अन्य किसिमका प्रलोभन बाँडेको, धेरैपटक घरमा जाँदा पनि उम्मेदवारलाई भेट नदिएको, निकटका कार्यकर्ताहरुलाई सके सूर्यमा नसके घण्टीमा मतदान गर्न आह्वान गरेको भन्दै वडा कार्यसमिति, गाउँ तथा नगर कार्यसमिति, क्षेत्रीय समिति मार्फत जिल्ला अनुशासन समितिमा उजुरी परेको छ ।

यसैगरी केन्द्रीय सदस्य गणेश लामा विरुद्ध निर्वाचन अभियानमा उपस्थित नभएको, आफू निकटकालाई सूर्य चिन्हमा मतदान गर्न र नसके हलोमा मत माग्न लगाएको, सार्वजनिक रुपमा यो पटक सूर्यमा मतदान गरी चन्द्र लामालाई जिताउनु, अर्को पटक उसले मलाई सहयोग गर्छ भन्दै पार्टी सभापति तीर्थ लामालाई हराउने अभियान सञ्चालन गरेको भन्दै उजुरी छ ।

यता प्रतिनिधि सभा क्षेत्र नं २ का सभापति महेश खरेलले क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेर निर्वाचन परिचालनको कुनै जिम्मेवारी नलिएको, मातहतको संगठनहरु वडा, नगर र प्रदेश कार्यसमिति परिचालन नगरेको, आफू निकटका कांग्रेस वडा सभापति र वडा अध्यक्षका उम्मेदवार, नेता कार्यकर्ताहरु समेतलाई बोलाई एमाले उम्मेदवार बास्कोटालाई भोट हाल्न दबाव दिने र पैसा समेत बाँडेको भनी उजुरी परेको छ ।

बनेपा नगरपालिकाबाट प्रदेश सभा सदस्य उम्मेदवारलाई भन्दा प्रतिनिधि सभा सदस्य उम्मेदवारलाई तीन हजार भन्दा बढी मत कम आउनुको कारणबारे स्पष्ट पार्न प्रदेश सांसद कञ्चनचन्द्र बादे र बनेपा नगर समितिलाई कांग्रेस काभ्रेले निर्देशन दिने निर्णयसमेत गरेको छ ।













0 प्रतिकृया