कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता
एक्सन खबर
काठमाडौं, ५ पुस । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । भाेली हुने मतदानका लागि आज मनाेनयद दर्ता हुन लागेकाे हाे ।
नेपाली कांग्रेसले दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको जनाएको छ ।निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी दिए ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी भएपनि अहिलेसम्म ठाेस निष्कर्ष निस्किएकाे छैन ।
मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुने र त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।
दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय आजै साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ । त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ ।
मतदान भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने छ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन कांग्रेसले भनेकाे छ ।
0 प्रतिकृया