महिलामाथिको प्रतिबन्ध तालिबानलाई महंगो साबित
एजेन्सी
काबुल, ११ पुस । तालिबानले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि अफगानिस्तानमा पाँच शीर्ष गैर–सरकारी संस्था (एनजीओ) ले काम रोकेका छन् । केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले ’हाम्रा महिला कर्मचारी बिना’ आफ्नो काम जारी राख्न नसक्ने बताएका छन् ।
अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू निलम्बन गरेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको बताएको छ । अफगानिस्तानको सत्तारुढ तालिबानले महिला अधिकारको निरन्तर दमन गर्दै आएको छ ।
तालिबानले महिलाहरूलाई विश्वविद्यालयमा जान प्रतिबन्ध लगाएको केही दिनपछि मात्रै गैरसरकारी संस्थाहरूमाथिको नयाँ आदेश आएको हो । यसअघि तालिवानको अर्थमन्त्रालयका प्रवक्ता अब्देल रहमान हबीबले विदेशी सहायता समूहका महिला कर्मचारीहरूले हिजाब नलगाएर ड्रेस कोडको उल्लंघन गरेको आरोप लगाएका थिए ।
तालिबानले तत्काल प्रतिबन्धको पालना नगर्ने कुनैपनि संगठनको इजाजतपत्र रद्द गर्ने धम्की दिएको छ ।
पुरुष विद्यार्थीले गरे कक्षा बहिस्कार
यस्तै, देशका पुरुष विद्यार्थीहरूले महिलाहरूको लागि उच्च शिक्षा निलम्बनको निन्दा गर्दै आफ्नो कक्षा बहिष्कार गरेका छन् । छात्राका लागि पनि खुला नभएसम्म कक्षामा उपस्थित हुन पुरुष विद्यार्थीले कडा विरोध गरेका छन् ।
‘हामी हाम्रो बहिष्कार जारी राख्नेछौं र यदि महिला कक्षाहरू पुनः खोलिएन भने, हामी हाम्रा पाठहरू पनि बहिष्कार गर्नेछौं र शिक्षालाई निरन्तरता दिनेछैनौं’, विद्यार्थी मुजामेलले भने ।
‘हाम्रा दिदीबहिनीका लागि विश्वविद्यालयहरू बन्द छन् । हामी पनि विश्वविद्यालय जान चाहँदैनौं’, अर्का विद्यार्थी नविदुल्लाहले भने । यसबाहेक, काबुल विश्वविद्यालयका धेरै लेक्चररहरूले पनि तालिबानलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आह्वान गरेका छन् । शैक्षिक संस्थानहरू बन्द गर्नु दुर्भाग्यपूर्ण भएको टोलो समाचारले जनाएको छ ।
‘हामी इस्लामिक इमिरेट्सलाई हाम्रा दिदीबहिनीहरूका लागि विश्वविद्यालयहरू फेरि खोल्न आग्रह गर्छौं’ लेक्चरर तौफिक उल्लाहले भने ।
0 प्रतिकृया