सरकार बनाउन प्रदेशमा यस्तो छ गठबन्धनको अंक गणित
एक्सन खबर
काठमाडौं, ११ पुस । नेकपा एमालेका अध्यक्ष केपी ओलीको सक्रियतामा सात दलीय गठबन्धनको सरकार बन्ने निश्चित भएपछि प्रदेशमा पनि गठबन्धनकै सरकार बन्ने संभावना छ । संसदको दोश्रो ठूलो दल एमाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने भएसँगै राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसद समेतको समर्थनमा सरकार बन्ने टुंगो लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिएको समयसिमा भित्रै दाहालले सरकार गठनको दावी पेश गर्दै प्रधानमन्त्री नियुक्ति पत्र लिइसकेका छन् । आज अपरान्ह ४ बजे एमाले सहितको सानो मन्त्री परिषद् गठन हुने र त्यसपछि अन्य दलहरुले निर्णय गरेसँगै सरकारले पूर्णता पाउने बताइएको छ ।
संघमा सात दलीय गठबन्धनको सरकार बनेसँगै सातै प्रदेशमा पनि गठबन्धनकै सरकार गठन हुने अंक गणित बनेको छ ।
प्रदेश १ मा सांसदहरुको संख्या ९३ छ । सरकार बनाउन ४७ सांसदको समर्थन चाहिनेमा एमालेसँग ४०, माओवादीसँग १३, राप्रपासँग ६, जसपासँग १ गरी ६० सांसद पुग्छन् ।
१०७ सांसद सदस्य रहेको मधेश प्रदेशमा सरकार बनाउन ५४ सांसदको सहमति चाहिन्छ । यहाँ एमालेसँग २३, जनमत पार्टीसँग १३, जसपासँग १६ र माओवादी केन्द्रसँग ८ सांसद छन् । गठबन्धनसँग कूल मिलाएर ६० सांसद पुग्छन् ।
११० संख्या रहेको बागमती प्रदेशमा सरकार बनाउन ५६ सांसद चाहिन्छ । तर, गठबन्धनसँग ६१ सांसद हुन्छन् । एमाले, २७ माओवादी, २१ राप्रपासँग १३ सांसद छन् ।
यता गण्डकी प्रदेशमा पनि गठबन्धन नै बलियो देखिएको छ । गण्डकीमा ६० सांसद रहेकोमा सरकार बनाउन ३१ सांसद आवश्यक पर्छ । गठबन्धनमा एमाले २२, माओवादी ८, राप्रपा २ गरी ३२ सांसद पुग्छन् ।
लुम्बिनी प्रदेशको संख्या ८७ हो । यहाँ सरकार बनाउन ४४ सांसद चाहिन्छ । एमालेसँग २९ सांसद हुँदा माओवादी केन्द्रसँग ९, जसपासँग ३, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४ र जनमत पार्टीसँग ३ सांसद संख्या गरी ५२ सांसद छन् ।
यता ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुसँग २४ सांसद छन् । एमालेका १०, माओवादी १३, राप्रपा १ को समिकरणले सरकार बन्न सक्छ ।
सुदुरपश्चिम प्रदेश सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिनेमा गठबन्धनसँग २८ सांसद छन् । ५३ सदस्यीय प्रदेश सभामा एमाले १०, माओवादी ११, नागरिक उन्मुक्ति पार्टीसँग ७ सांसद छन् ।
0 प्रतिकृया