माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदाङ्गियाेः डा. शेखर
एक्सन खबर
काठमाडाैं ११ पुस । कांग्रेस नेता डा. शेखर काेइरालाले संसदको सबैभन्दा ठुलो राजनीतिक शक्ति भएर पनि कांग्रेस विपक्षमा पुग्नुमा माओवादी केन्द्र मुख्य कारक भएकाे बताएका छन् । गठबन्धनको मुख्य ‘पार्टनर’ नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि एकपटक उदाङ्गिएको भन्दै नेता काेइरालाले संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन समेत भनेका छन् ।
मंसिर ४ गतेकाे निर्वाचनबाट सबैभन्दा ठूलाे दल बनेपनि कांग्रेसले सरकार गठन गर्न नसक्नुका सन्दर्भमा विज्ञप्ति जारी गर्दै गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको समेत जिकीर गरेका छन् ।
‘संसदबाट नयाँ सरकारको नेतृत्वमा प्रचण्डको सत्तारोहण अपेक्षित थिएन । संसदीय व्यवस्थामा यस्ता घटनाहरू असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिन्छ ।’ डा. शेखरले संविधानको रक्षा र समृद्धिको यात्रा गर्ने भनी गठित शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको निरन्तरता किन र कसरी सम्भव भएन ? यो प्रश्न गम्भीर रूपमा अगाडि आएको बताएका छन् ।
कांग्रेसले ठूलो मूल्य चुकाएर पाँच दलीय गठबन्धनसँग स्थानीय, प्रदेश र संघको निर्वाचनमा चुनावी तालमेल गरेको उल्लेख गर्दै नेता डा. काेइरालाले राजनीतिक, सामाजिक र सांस्कृतिक रूपले फरकधार भएका दलहरू बीचको चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहीन ठानिएकाे समेत जिकीर गरेका छन् ।
‘गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको हामी बिर्सन सक्दैनौँ । विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ ।’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
यस्तै उनले याे परिघटनाले सिद्धान्त भन्दा माथि व्यक्तिवादी र मनोगत चिन्तनको पनि पराजय भएको बताउँदै अब फेरि नेपाली कांग्रेस नयाँ सोच, दृष्टिकोण, उर्जावान र एकताबद्ध भएर राष्ट्रिय राजनीतिमा अगाडि आउनुको विकल्प नभएकाे जनाएका छन् । ‘साथीहरूमा तत्कालको लागि नयाँ र अप्ठ्यारो परिस्थितिमा पार्टी पुग्यो भन्ने निराशा आउनु अस्वभाविक होइन । साथीहरु निरास हुनुपर्ने कुनै कारण छैन । हामी निरन्तर संवाद र सम्पर्कमा रहदै तपाईहरुको घर आँगनमा आउने छौँ । किन यस्तो परिस्थिति निर्माण भयो भनी हामी नेतृत्व समक्ष र कार्यसमितिमा निर्मम समीक्षा गर्ने नै छौँ ।’
कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गरेकाे जनाउँदै उनले केन्द्रदेखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको पनि जिकीर गरेका छन् । यद्यपि यससबाट निराश नभइ कांग्रेसीहरूकाे परीक्षा शुरू भएको ठानी नयाँ ढंगले जनता बीच जानुपर्ने काेइरालाकाे भनाइ छ ।
पार्टीको गल्ती कमजोरीको लागि माफी माग्ने, जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको विकल्प नरहेकाे जिकीर गर्दै उनले भनेका छन्, ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन । हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ ।’
0 प्रतिकृया