२२ पुसअघि नै कांग्रेसमा इतर समूहले केन्द्रीय सदस्यको भेला डाक्ने
एक्सन खबर
काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेर केन्द्रसहित सातै प्रदेशबाट कांग्रेस सत्ता बाहिर रहनुपर्ने अवस्था आएपछि पार्टीमा तीव्र विवाद सुरु भएको छ । संस्थापन पक्षको एकलौटी सोच र व्यवहारका कारण कांग्रेस पहिलो पार्टी भएर पनि प्रतिपक्षमा सीमित हुनुपरेपछि डा.शेखर कोइराला–गगन थापा समूहले छलफल सुरु गरेको छ ।
बुधबार काठमाडौंको बालुवाटारमा भएको भेलामा इतर समूहले संस्थापन पक्षको एकांकी र सत्ता लिप्साकै कारण कांग्रेस सत्ता बाहिर पुगेको निष्कर्ष निकालेको छ । आजको बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरु अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत सहभागी थिए।
इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न केन्द्रीय सदस्यको भेला बोलाउने भएको छ । बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेन्डा तय गर्न अर्को भेला बोलाउने भएको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठक २२ पुसमा बस्दैछ । त्यसैले इतर समूहको बैठक केन्द्रीय समितिको बैठकअघि बस्ने तय भएको छ । सत्ताको केन्द्रमा हुँदाहुँदै पनि सुझबुझ पुर्याउन नसक्दा संघसहित सबै प्रदेशमा सरकार गुम्ने भएपछि पार्टी सभापति देउवा रक्षात्मक अवस्थामा पुगेका छन् ।
फाेटाे फायलः
0 प्रतिकृया