Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


सुन्दरहरैंचामा मेडिकल कलेज चलाउन डा. शर्माको सक्रियताः सहयोग नगरे टेन्ट टाँगेर बस्छौं

एक्सन खबर
पौष, १७, २०७९


सुन्दरहरैंचामा मेडिकल कलेज चलाउन डा. शर्माको सक्रियताः सहयोग नगरे टेन्ट टाँगेर बस्छौं

मोरङ, १७ पुस । मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पताल चाँडै सञ्चालनमा आउने प्रतिनिधि सभाका सांसद डा. सुनिल शर्माले बताएका छन् । आइतबार विश्वविद्यालयका पदाधिकारी र सरोकारवालाहरुसँगको अन्तरक्रियामा बोल्दै सांसद डा. शर्माले विश्वविद्यालयको मेडिकल कलेज सञ्चालन गर्न आफु प्रतिबद्ध रहेको जनाउँदै पदाधिकारीहरु पनि गम्भिर हुनुपर्ने बताए ।

मेडिकल कलेज चलाउन कोसी अञ्चल अस्पताललाई आङ्गिक बनाएर तत्कालै कलेज सञ्चालन गर्ने विषयमा छलफल भइरहेपछि विश्वविद्यालयका पदाधिकारीहरुबाट सोचे अनुसार द्रुत गतिमा काम नभएको गुनासो आएकोले पदाधिकारीहरुलाई जिम्मेवार भएर लाग्न पनि डा. शर्माले अनुरोध गरे ।

‘यो पब्लिक संस्था हो, विशेषतः यो क्षेत्रका निम्ति, हाम्रा निम्ती जीवनमरणको कुरा हो । १७ वर्षदेखि मेडिकल कलेजको नोटिस दिएर मेडिकल कलेज लञ्च नगर्ने अनी कार्यकारी पदमा बसिराख्ने भन्ने कुरा लज्जास्पद नै हुन्छ ।’ विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरु मेडिकल कलेज सञ्चालनमा उदासिन देखिएको गुनासो आएको उनको भनाई छ ।

विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न कुनै समस्या नरहेको चर्चा गर्दै डा. शर्माले पदाधिकारी र सरोकारवालाहरु जनउत्तरदायी हुनुपर्नेमा जोड दिए । ‘बनिबनाउ छ, बैंकको लोन छैन, ८ सय विगाहा जमिन छ, विल्डिङ छ, लाईब्रेरी छ, बेसिक साइन्सको कम्प्लिट ल्याब छ ।’ २ वर्षसम्म पठनपाठनको लागि केही गर्नु नपर्ने जनाउँदै डा. शर्माले कानुनी प्रावधानहरु पुरा गर्नको निमित्त चिकित्सा शिक्षा आयोगसँग सल्लाह भइरहेको पनि बताए ।

कोसी अञ्चल अस्पताललाई आङ्गिक बनाएर कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षणका लागि पठाउने विषयमा कुरा भइरहेको जनाउँदै तत्काल २ वर्ष विद्यार्थीहरुलाई अस्पताल पनि जानै नपर्ने समेत जिकीर गरे । ‘सुरुको २ वर्ष अस्पताल जानै पर्दैन एनाटोमी ल्याबमै जाने हो ।’ विश्वविद्यालयका पदाधिकारीहरुले समन्वय र सहयोग नगरे मेडिकल कलेज सञ्चालन गर्ने ठूलो अवसर गुम्ने डा. शर्माको भनाई छ ।

मेडिकल कलेज तत्काल सञ्चालनगर्न विश्वविद्यालयका पदाधिकारी र विभागीयहरु आजबाटै सक्रियतापूर्वक लाग्न अनुरोध गर्दै डा. शर्माले विगतमा २, ३ घण्टा हल्लिएर जागिर खाने मानसिकताबाट माथि उठ्न आब्हान गरे । विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्दा त्यहाँ कार्यरत पदाधिकारी, शिक्षक, डाक्टर, कर्मचारी सबैको हित हुने जनाउँदै छोराछोरी नाति पनातीसम्मका लागि हुने कार्यमा सबै लाग्नुपर्नेमा जोड दिए ।

यसअघि राजधानीमा आयोजित सर्वदलीय बैठकमा माघ १ गतेदेखि सञ्चालनमा ल्याउने भनेर घोषणा गरिसकेको जनाउँदै तत्कालको लागि विश्वविद्यालय भित्रको राजनीति समेत बन्द गर्न अनुरोध गरे । साथै, डा. शर्माले विश्वविद्यालय व्यवस्थापनले कलेज सञ्चालन गर्न समन्वय नगरे आफुहरु टेन्ट टाँगेर धर्नामा बस्ने समेत चेतावनी दिए । ‘फस्ट फेज ओपिडी, सेकेण्ड फेज इमरजेन्सी र थर्ड फेज इन पेसेन्ट । यी तीन कुरा हामी गर्छौं । यसमा यहाँको मेनेजमेन्टले समन्वय गर्नु भएन भने हामी टेन्ट टाँगेर बस्छौं, हामी छोड्दैनौं, यो दुर्भाग्यपूर्ण हुन सक्छ ।’ डा. शर्माले भने ।

अन्तरक्रियामा बोल्दै विश्वविद्यालयका चिकित्सक, कर्मचारीहरुले आ–आफ्ना समस्या र गुनासाहरु सुनाएका थिए । त्यहाँ कार्यरत चिकित्सकहरुले विश्वविद्यालयले आफुहरुलाई सम्मानजनक रुपमा नहेरेको, अस्पतालमा पर्याप्त औषधी, उपकरण नभएको, सेवा सुविधाहरु नभएको तथा जागिरको समेत ठेगान नभएको लगायतका समस्या अवगत गराएका थिए ।

मोरङ क्षेत्र नं. ३ का सांसद डा. शर्मा कुनैपनि हालतमा सुन्दरहरैंचामा मेडिकल कलेज सञ्चालन गरेरै छाड्ने आफ्नो प्रतिबद्धता जनाए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, चिकित्सक, कर्मचारीहरूकाे सहभागिता थियाे ।














0 प्रतिकृया