Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


एकीकृतको पोलिटब्यूरो र जसपाकाे राजनीतिक समितिको बैठक आज

एक्सन खबर
पौष, १८, २०७९


एकीकृतको पोलिटब्यूरो र जसपाकाे राजनीतिक समितिको बैठक आज

काठमाडौं, १८ पुस । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक आज बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आज बिहान ११ बजे पार्टी कार्यालयमा बैठक बस्दैछ ।

यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो । एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक पनि आज बस्दैछ । बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ ।

मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन् ।













0 प्रतिकृया