Follow us:


Follow us

२३ भदौ २०८३, मङ्गलवार
२३ भदौ २०८३, मङ्गलवार


नेपाली बहादुर छन् भन्दै बौद्धिकता छायाँमा पार्न खोजिएको ओलीकाे आराेप

एक्सन खबर
पौष, १८, २०७९


नेपाली बहादुर छन् भन्दै बौद्धिकता छायाँमा पार्न खोजिएको ओलीकाे आराेप

काठमाडौं, १८ पुस । पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोका बालबालिका देख्दा, युवाले पढ्न नपाएको देख्दा, दुर्गमको समस्या देख्दा मन कटक्क खाने गरेको बताएका छन् । यस्ता समस्या तत्काल पुरा गर्न नसके पनि सदैव यसका लागि तत्पर रहेको उनले जिकिर गरे ।

बानेश्वस्थित ग्लोबल कलेज म्यानेजमेन्टमा एक्प्लोर आइडिया क्लबले आयोजना गरेको कार्यक्रममा उनले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्न दीर्घकालिन योजना ल्याउने कोसिस गरिरहेको बताए ।

‘विद्यार्थीसँग पूर्वप्रधानमन्त्री : प्रेरणा र जीवन दर्शन’ शीर्षकको अन्तर्क्रियामा उनले हाम्रो पुस्तालाई नेपाली बहादुर छन् भन्ने कुरा गरेर बौद्धिकता नै छायाँमा पार्न खोजिएको आरोप लगाए ।

‘हाम्रा अग्रजहरू बलिया थिए । साहसी थिए । यति मात्र होइन वौद्धिक पनि थिए । यसतर्फ भने कतै चर्चा भएको छैन’, उनले भने, ‘अब यसतर्फ चर्चा गर्न जरुरी छ । हाम्रो दर्शन, मान्यता नै हाम्रा पुस्ताले आर्जन गरेका हुन् । यो विद्वताको उदाहरण हुन् ।’

अबका युवाले उर्जाशील भएर आफूले पढेको ज्ञानका माध्यमबाट समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने ओलीले सुझाब दिए । विद्यार्थीले नै आयोजना गरेको उक्त कार्यक्रममा ओलीलाई विद्यार्थीले विभिन्न प्रश्न गरेका थिए । ओलीले विद्यार्थीहरूसँग करिब तीन घण्टा अन्तरक्रिया गरेका थिए ।

उक्त कार्यक्रममा ओलीले नवनिर्मित फुटसलको पनि उद्घाटन गरेका थिए । केहीबेर विद्यार्थीहरूसँग फुटसल खेलेर माहोल तताएका थिए।


 














0 प्रतिकृया