प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त
एक्सन खबर
विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्की नियुक्त भएका छन् । नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीको लागि दाबी पेश गरेका थिए ।
एमाले नेता कार्कीले ९३ सदस्यीय प्रदेशसभाका बहुमत सदस्य ६० जनाको समर्थनसहित आज दिउँसो ४:२० मा दावी पेश गरेका थिए ।
बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेशसभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्री कार्कीको सपथ ग्रहण सोमबार बजे हुने छ । मुख्यमन्त्रीमा नियुक्त कार्कीले सोमबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन् ।
को हुन् कार्की ?
२०२१ साल असोज ११ गते झापाकाे गौरादह नगरपालिका वडा नम्बर ३ मा माता/पिता जानुकादेवी र स्वर्गीय बमबहादुर कार्कीको कोखबाट तेस्रो सन्तानका रूपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । उनको परिवारमा आमा, दाजु–भाउजू, श्रीमती, दुई छोरी र एक छोरा छन् । उनले एसएलसीसम्मको अध्ययन स्थानीय जनता माविमा गर्दा नै अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका हुन् । २०३६ सालबाट पार्टी राजनीतिमा प्रवेश गरेका कार्कीले महेन्द्र बहुमुखी क्याम्पसमा आइएलको पहिलो ब्याजको अध्ययन गरी २०४२ सालमा नेपाल ल कलेज भर्ना भएर कानुनमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
अनेरास्ववियुको क्याम्पस प्राक, जिल्ला कमिटी काठमाडौँ, बागमती अञ्चल कमिटी हुँदै उनी २०५५ सालमा केन्द्रीय अध्यक्ष भए । नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएका उनी विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य भए । २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका कार्की २०७१–२०७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज, प्रदेश संगठन कमिटी, प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुख भएका थिए ।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश १ को तत्कालिन मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्री भएका थिए । मंसिर ४ गते सम्पन्न निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट पुनः निर्वाचित कार्की नेकपा कालमा नेकपाको केन्द्रीय सदस्य थिए ।
कार्की एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बनेका थिए । हाल एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह–इन्चार्जको भूमिकामा छन् ।
0 प्रतिकृया