जात र विविधता मात्र होइन अब राष्ट्रिय संस्कृति संरक्षण र सम्वर्द्धन गर्नुपर्छ : केपी ओली
एक्सन खबर
काठमाडौं, २५ पुस । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले जात र विविधताको मात्र नभएर समग्र राष्ट्रिय संस्कृतिको संरक्षण र सम्वर्द्धनमा जोड दिनुपर्ने बताएका छन् ।
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले जातको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले विविधताको मात्र कुरा गरेर हुनेवाला छैन । हामीले राष्ट्रिय संस्कृतिको समग्रतामा रक्षा, सम्वर्द्धन, हजारौँ वर्ष लगाएर हाम्रा पूर्वजहरूले विकास र स्थापित गरेको सामाजिक उन्नत संस्कृतिको रक्षा, त्यसको सम्वर्द्धन गर्नुपर्छ ।’
संस्कृति र सामाजिक मूल्य मान्यता बिर्सिए समाज समाज नरहने उनको भनाइ छ । ओलीले बर्तमान सरकार जनताका दुखः दर्द हेर्न बनेकाे बताउँदै जनताका पक्षमा काम गर्ने बताए । तराइकाे शीत लहरप्रति सरकारकाे ध्यानाकर्षण गराउँदै जनतालाइ अकारण मृत्यु हुनबाट राेक्न ध्यान दिन जरूरी रहेकाे उल्लेख गरे ।
ओलीले सफल सांसद हुन, संसदकाे गरिमा बढाउन पहिलाे दिनबाटै सांसदहरू लाग्नुपर्ने बताउँदै जनताका प्रतिनिधिहरूले जनताका समस्या, आवश्यक्ता र अपेक्षाहरूलाई संवाेधन गर्नुपर्ने पनि बताए । उनले पारदर्शी रूपमा जनताले पत्याउने गरी काम गर्नुपर्नेमा जाेड दिए ।
साथै उनले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको पनि बताए । धेरै वर्षपछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राकाे संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताए ।
0 प्रतिकृया