६० लाखलाई सामाजिक सुरक्षाभत्ता, ६ महिना भित्र नागरिकता समस्या समाधान
एक्सन खबर
काठमाडौं, २५ पुस । सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षाभत्ता व्यवस्थित गर्ने विषय समेटिएको जानकारी दिए ।
पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्युनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।
त्यस्तै, सरकारले ६ महिना भित्र नेपाली नागरिकका सन्तानले नागरिकता नपाउने व्यवस्थाकाे अन्त्य गरिने बताएकाे छ । संसदकाे अधिवेशनबाट यथासीघ्र नागरिकता सम्बन्धी अन्य समस्या समाधान गर्ने, सबै नागरिकलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने सरकारकाे न्युनतम साझा कार्यक्रममा उल्लेख छ ।
नीतिगत र संरचनागत सुधारका लागि सरकारले सुशासन, प्रभावकारी सेवा प्रवाह, समृद्धिकाे अभियानमा वाधक रहेका नीति, ऐन तथा संरचना फेर्ने, अति राजनीतिकरणका कारण असक्षम बनेका राज्यका विभिन्न संरचनाहरूलाई पुनर्संरचना गरी सक्षम बनाउने, अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझाव र सिफारिसअनुरूप न्यायपालिकामा संरचनगत परिवर्तन र सुधार गर्ने एवं आम नागरिकहरूले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चित गर्ने भनेकाे छ ।
त्यस्तै, नागरिक प्रशासन र सुरक्षा निकायलाई सक्षम, व्यावसायिक र जनताप्रति उत्तरदायी बनाउन विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल गठन गरी त्यसको प्रतिवेदनअनुरूप व्यापक सुधार प्रक्रिया अगाडि बढाउने सरकारकाे कार्यक्रम छ ।
हेर्नुहाेस् सरकारकाे न्युनतम साझा कार्यक्रम
0 प्रतिकृया