नक्कली भुटानी शरणार्थी प्रकरणः आज जवाफी बहससँगै थुनछेक आदेश
एक्सन खबर
काठमाडाैं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ । जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो ।
प्रतिरक्षा बहस लम्बिएपछि पूर्वनिर्धारित समयमा थुनछेक आदेश सुनाउन असफल भएको थियाे । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको बहस सकिएको छ ।
न्यायाधीश न्यौपानेले शुक्रबार बिहान सरकारी वकिलहरूको जवाफी बहस सुन्ने र त्यसपछि आदेश गर्नेछन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा २१ जेठदेखि जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।
मंगलबार नै आदेश गर्ने जनाइएको भएपनि थुनामा रहेका व्यक्तिहरूको पक्षमा बहस लम्बिएको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका एमाले सचिव टोपबहादुर रायमाझी, नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जना अहिले प्रहरी नियन्त्रणमा छन् ।
आरोपितहरूको भूमिका, संलग्नता, प्रमाणका आधारमा इजलासले हिरासतमा रहेकालाई एकै प्रकारको आदेश नगर्न पनि सक्छ । शुक्रबार थुनछेक आदेशपछि मात्र अदालतमा मुद्दाले प्रवेश पाउनेछ ।
घटनामा संलग्न १२ जना अझै फरार छन् । पक्राउ परेका रायमाझी, खाणसहितलाई रिहाको आदेश हुन सक्ने भन्दै विभिन्न पक्ष र समूहले माइतीघरमा प्रदर्शन गर्दै आएका छन् । प्रकरणमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू संलग्न रहेको आरोप लगाउँदै मानवअधिकार तथा शान्तिसमाजले बिहीबार संसद् भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गरेको थियो। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले मानवअधिकार तथा शान्ति समाजका पूर्वसभापति कृष्ण पहाडीसहितलाई नियन्त्रणमा लिएको थियो ।
नेपाली भाषी भुटानीहरू लामो समयदेखि झापाको विभिन्न शिविरमा बस्दै आएका थिए । तेस्रो मुलुकमा व्यवस्थापन गर्ने समझदारी अनुसार उनीहरूलाई अमेरिका पठाइएको थियो ।
0 प्रतिकृया