नेपाल इन्जिनियरिङ कलेजका पूर्व विद्यार्थी पुरस्कृत
एक्सन खबर
काठमाडाैं, ३ साउन । मुनाफारहित उच्च शैक्षिक संस्थाको रूपमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा दर्ता भई चाँगुनारायण नगरपालिकामा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)का पूर्व विद्यार्थी इन्जिनियर सचिन्द्र कुमार देव पुरस्कृत भएका छन् ।
इ. देव नेपाल इन्जिनियर्स एसोसिएसनको ६१औं वार्षिकोत्सव कार्यक्रममा शहीद इन्जिनियर नवराज विष्ट स्मारक पुरस्कारबाट सम्मानित भएका हुन् । कलेजको स्नातकोत्तर कार्यक्रम निर्माण व्यवस्थापनमा सन् २०१३ देखि २०१५ सम्म अध्ययन गरेका इन्जिनियर देवलाई हिजो श्रावण ३ गते ६१ औं इन्जिनियर दिवसमा पुरस्कृत गरिएकाे हाे ।
उनलाई एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमाणपत्र सहित पुरस्कार प्रदान गर्दै इन्जिनियर देवले पुर्याएकाे योगदानको कदर गरेका थिए । नेपालको दुर्गम क्षेत्रमा ग्रामीण पूर्वाधार विकास मार्फत जनजीवनमा उल्लेखनीय परिवर्तन ल्याउन सफल इन्जिनियर देवको विशेष योगदान तथा उनको विशिष्ट कार्यले अरूलाई पनि प्रेरणा दिएकोले सोको उच्चतम् मूल्याङ्कन गरी उक्त पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल इन्जिनियरिङ कलेजबाट निर्माण व्यवस्थापन कार्यक्रममा स्नातकोत्तर तह उत्तीर्ण गरेका अन्य विद्यार्थीहरूले पनि देश तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू र विश्वविद्यालय तथा शोध केन्द्रहरूमा उल्लेखनीय योगदान दिइरहेको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।
कलेजमा सञ्चालित निर्माण व्यवस्थापन कार्यक्रममा यस वर्षको भर्ना कार्यक्रममा पनि पोखरा विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा उत्तीर्ण भएका सर्वोच्च अंक प्राप्त गरेका सबै विद्यार्थीहरू स्वीकृत सित संख्या अनुसार नेकलाई प्रथम रोजाइमा राखेर भर्ना भएका थिए ।
निर्माण व्यवस्थापन कार्यक्रम अध्ययन गर्न चाहने नेपालका इन्जिनियरहरूमा नेपाल इन्जिनियरिङ कलेज सर्वाधिक लोकप्रिय भएको तथ्याङ्कले देखाउँछ । कलेजमा इन्जिनियरिङ विधाका स्नातक, स्नातकाेत्तर तथा मास्टर्स तहमा अध्ययन अध्यापन हुने गरेकाे छ ।
कार्यक्रममा आउटस्ट्याण्डिङ ओमन इञ्जिनियर अवार्ड ई.शुभलक्ष्मी श्रेष्ठ, आउटस्ट्याण्डिङ युथ प्रोफेसनल अवार्ड ई.अमित अग्रवाल, इञ्जिनियरिङ एकेडेमी एक्सिलेन्सी अवार्डबाट प्रा.डा. नरेन्द्रमान शाक्य लगायतका व्यक्तिहरु सम्मानित भएका थिए ।
0 प्रतिकृया