डा. शेखरले बाेलाए आफ्नो समूहको बैठक
एक्सन खबर
काठमाडाैं । कांग्रेस नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । नेपाली कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनमा पराजित सभापतिका उम्मेदवार कोइरालाले (आज) दिउँसो २ बजेपछि अनामनगरस्थित एक होटेलमा बैठक बोलाएका हुन् ।
महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका आफ्ना समूहका उम्मेदवारबीच समिक्षात्मक बैठक भएकाले अनिवार्य उपस्थित हुन सबैलाई आग्रह गरिएको कोइराला पक्षका एक नेताले बताए । समिक्षात्मक बैठक भनिएपनि कतिपयले शेखर गुटकाे भेला भनिरहेका छन् ।
यसअघि मंगलबार शेखर पक्षका शीर्ष तहका नेताबीच छलफल भएको थियो । उक्त बैठकले थप छलफल गर्न आफूपक्षीय उम्मेदवारको बैठक बोलाइएको हो । अनुपम फुडल्याण्डमा बसेको शीर्ष नेताको बैठकले रामचन्द्र पौडेलले देउवालाई सघाएको निष्कर्ष निकालेको थियो । उक्त बैठकमा कांग्रेस उपसभापति धनराज गुरूङ सहित, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतसँग छलफल गरेका थिए ।
सभापति शेरबहादुर देउवाले पहिलो र दोस्रो चरणमा केन्द्रीय समिति सदस्यमा एकलौटी रुपमा मनोनित गरेकोप्रति शेखरपक्षले असन्तुष्टि जनाएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा समेत सभापति देउवाले एकलाैटी निर्णय गरेपछि डा. शेखर समुह असन्तुष्ठ छ । महाधिवेशनमा पराजित भएपनि ४० प्रतिशत मत ल्याएका काेइरालाले भागवण्डाकाे राजनीति नगर्ने बताएपनि देउवाकाे एकलाैटी कार्यशैलीका विरूद्ध भने कठाेर बन्ने देखिएकाे छ ।
0 प्रतिकृया