Follow us:


Follow us

२८ भदौ २०८३, आइतवार
२८ भदौ २०८३, आइतवार


एमालेकाे जिल्ला अधिवेशनमा किन गएनन् भीम आचार्य ?

एक्सन खबर


एमालेकाे जिल्ला अधिवेशनमा किन गएनन् भीम आचार्य ?

उद्घाटन सत्रमा केन्द्रीय तथा प्रदेश तर्फका नेताहरूको जमघट हुँदा आचार्य भने सहभागी नै भएनन् । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम , अमृता सुब्बा, मञ्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरूको सहभागिता थियो ।

प्रकाश तिम्सिना
सुनसरी । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थ्ये । तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, आफ्नो शक्ति कमजोर बन्दै गएपछि आचार्य पार्टीको कार्यक्रममा देखिन छोडेका छन् ।

एमालेको दशौं महाधिवेशनबाट सचिव पदमा रहेका आचार्य सदस्य पदमा झरेपछि उनको शक्ति कमजोर देखिएको छ । शुक्रबार सुरु भएको जिल्लाको अधिवेशनमा उनी सहभागी भएनन् । इनरुवा नगरपालिकामा  घर भएका उनी इनरुवाकै जेल मैदानमा शुक्रबारबाट सुरु भएको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा देखा नै परेनन् ।  

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट  प्रदेश सांसदका रूपमा निर्वाचित आचार्य  जिल्ला अधिवेशन हुँदा उपस्थित भएनन् । कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि हुने गरी तय गरिएको थियो । अध्यक्ष केपी ओलीले ६१ वटै जिल्लाका अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरे ।

उद्घाटन सत्रमा केन्द्रीय तथा प्रदेश तर्फका नेताहरूको जमघट हुँदा आचार्य भने सहभागी नै भएनन् । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम , अमृता सुब्बा, मञ्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरूको सहभागिता थियो ।

घरमै बसेका आचार्य किन आएनन् भन्ने प्रश्न आमनेता तथा कार्यकर्तामा थियो । त्यसो त आचार्य कार्यकर्ता माझ खुलेर नबोल्ने स्वभावका छन् । उनी घरमै बसेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । उनी जसरी भए पनि रेवतीरमण भण्डारीलाई अध्यक्षमा रोकेर सहमतिका नाममा खेमराज पोखरेललाई सर्वसम्मत गरेर गृह जिल्लामा शक्ति देखाउन लागेका हुन् ।

विगतको विरासतलाई कायम गर्न र केन्द्रका नेतालाई टक्कर दिन उनी भण्डारीलाई अध्यक्ष हुन नदिन लागि परेका हुन् । आफू जिल्लाको कार्यक्रममा नदेखिएर निकटका लोकेश निरौला र नन्द बस्नेतलाई पदाधिकारीमा राख्नका लागि लबिङ गरिरहेका छन् । पोखरेललाई अध्यक्ष बनाउन सके निरौला र बस्नेत सुरक्षित रहने बुझेर उनी त्यता लागेका हुन् ।

२०७५ अगाडि सुनसरीमा उनको पक्षमा राम्रो मत थियो । तर, नेकपा विभाजन पछि भने ओली पक्षको राम्रो प्रभाव पर्दै आएको छ । जसको असर सिधै आचार्यमा देखिएको हो । विवादास्पद अवस्थामा जिल्ला अध्यक्ष भएका पोखरेललाई पुनः दोहोर्‍याउन सके आफू बलियो हुने संकेतसमेत देखाएका छन् उनले ।

 स्राेत अनुसार निरौला र बस्नेतको पक्षमा बाहिर देखिएर समर्थन गर्नुभन्दा भित्रबाटै रणनीतिक योजनामा आचार्य छन् । आचार्यले निरौला र बस्नेतलाई पार्टीको हरेक कार्यक्रममा अगाडि सार्ने गरेकाे आरोप लाग्दै आएको छ । त्यसैकारण पनि उनी घरमा नै बसेको स्राेतले बतायो ।  

अधिवेशनकाे बन्द सत्र आजबाट सुरु भएको छ । बन्द सत्रबाट आगामी तीन वर्षे नेतृत्व टुंगाे लाग्नेछ । वर्तमान अध्यक्ष खेमराज पोखरेल, पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी, संविधान सभा सदस्य रेवतीरमण भण्डारी र पार्टी प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईँ अध्यक्षका दाबेदार छन् ।

चौधरी र चौलागाईँले अध्यक्षमा पोखरेल सर्वसहमत भए उम्मेदवारी  फिर्ता लिने बताएका छन् । तर, भण्डारी अध्यक्ष हुने देखिए उनीहरू दुवैले उमेदवारी दिने बताएका छन् । अध्यक्षका आकांक्षी चारै जना यसअघि नेकपा विभाजनको अवस्थामा पुग्दा ओली समूहमै रहेर काम गरेका नेता हुन् ।













0 प्रतिकृया