Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


‘वीरेन्द्रनगर बजारका नाला ल्याडफिल साइट जस्ता’

एक्सन खबर
पाैष २८, २०७८


‘वीरेन्द्रनगर बजारका नाला ल्याडफिल साइट जस्ता’

पदमबहादुुर श्रेष्ठ अधिवक्ता वातावरण कानुनविद् हुन् । १५ वर्षदेखि कानुन वातावरणका क्षेत्रमा संग्लन श्रेष्ठले २०७६ सालमा राष्ट्रिय वातावरण संरक्षण पुरस्कार राष्ट्रपतिबाट पाएका थिए । यो पुरस्कार पाउने उनी नेपालकै पहिलो कानुन व्यवसायी हुन् । वातावरण कानुन समाज नेपालको अध्यक्षसमेत रहेका श्रेष्ठसँग कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएका बेला हामीले यहाँका सहरी वातावरणको विषयमा कुराकानी गरेका थियौं । उनै श्रेष्ठसँग गरिएको कुराकानीको सारसंक्षेप :  

वीरेन्द्रनगर नगरपालिकाको वातावरणीय अवस्था कस्तो देख्नुभयो ?


सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वातावरणीय अवस्था कस्तो रहेछ मैले आफ्नै आँखाले हेर्ने मौका पाएँ । यहाँको फोहोरमैला व्यवस्थापनको अवस्था हेर्ने मौका पाएँ । प्रदेश राजधानी भएकाले यहाँ कर्णाली प्रदेशको मुख्यमन्त्री बस्नुहुन्छ । यो कर्णालीको केन्द्रबिन्दुमा रहेको सहर हो । यही सहरले कर्णाली प्रदेश र अन्य सहरलाई झल्काउँछ ।  यसलाई कसरी सुन्दर बनाउने भनेर लाग्नुपर्छ ।

यहाँकाे फाेहाेरमैला व्यवस्थापनका लागि के गर्न आवश्यक छ ?


यहाँको फोहाेरमैला हेर्दा अत्यन्तै दुःख लाग्यो । फोहाेरमैला व्यवस्थापन ऐन २०६८ ले नेपाल सरकारले पारित स्थानीय सरकारलाई उत्तरदायित्वसहितको विशेष अधिकार दिएको छ । नगरपालिकाभित्र रहेको फोहाेरमैला संकलन गर्ने, ढलबाट निस्केको फोहाेरमैला उठाउने र त्यसको उचित व्यवस्थापन गर्ने अधिकार दिएको छ । नाला सफा गर्ने सहरलाई सुन्दर बनाउने अधिकार दायित्व नगरपालिकाको हो । नगरपालिकाले पार्टनरसिपका रूपमा नगरपालिकाले अर्को संस्थालाई पनि दिन सक्छ । नगरपालिका स्वयंले पनि त्यो काम गर्न सक्छ ।

फोहाेरमैला व्यवस्थापनका हिसाबले वीरेन्द्रनगर नगरपालिका एक फोहाेरको सहर हो भन्न अप्ठयारो लागेन । यहाँ घर अगाडिका नालामा फोहोर थुप्रो लागेको छ । नालाहरूलाई साना ल्यान्डफिल साइटका रूपमा विकास गरिएका छन् । यसमा कसैको ध्यान गएको छैन । प्लास्टिक त्यहीँ छ, व्यापारीले व्यापार गरेर छाडेको थुप्रो त्यहीँ छ । कार्टुनहरू त्यहीँ, प्लास्टिक, रक्सी खाएको बोलतहरू त्यहीँ राखिएका छन् । सललल पानी बग्ने ठाउँमा फोहाेर राखिएपछि प्रदूषण बढी हुन्छ । नालामा यसरी राखिएका फोहोरका कारण पानी जम्ने, लामखुट्टे बढी जन्मिन्छन् । स्वास्थ्यका हिसावले हामीलाई हानीकारण हुने अवस्था छ । नाला सफा गर्ने, फोहोर सफा गर्ने, बाटो सफा गर्ने दायित्व नगरपालिकाको हो ।  तर यो दायित्व नगरपालिकाले  देखेकाे छैन ।

स्थानीय सरकारले के गर्न सक्छ ?


स्थानीय सरकारले स्थानीय ऐनअनुसार फोहोर गर्नेलाई कारबाही गर्न सक्छ । नगरपालिकाले वातावरण संरक्षणका लागि छुट्टै कानुन पनि बनाएको छ । प्रदेशले पनि छुट्टै कानुन बनाएको छ । यी सबै कानुनले समायोजन भनेको फोहोर व्यवस्थापन नै हो । यो जाडोको समयमा प्लाष्टिक, कागज, मोटरसाइलको टायर जलाउने काम भएको छ । प्लास्टिकजन्य फोहोर जलाउँदा झन् चुरोट धुवाँभन्दा बढी हानिकारक हुन्छ । यसले स्वास्थ्यका हानि गर्छ । यस्ता कुरा नगरपालिकाले गर्नुपर्छ अथवा प्रदेश सरकारले बिषेश तरिकाले लाग्न जरुरी छ । जनस्वास्थ्यमा असर गर्ने कुरामा प्रदेश सरकारले अनुगमन नगरेको स्थानीय सरकारले ध्यान नदिएको देखिन्छ ।

हरेक प्रदेश सरकारले केन्द्र सरकारको निर्देशनमा आफ्नो वातावरण संरक्षणका लागि कानुन बनाएको हुन्छ । वातावरण संरक्षण ऐनका अनुगमन गर्नु काम प्रदेश सरकारको पनि हो, स्थानीय सरकारको पनि हो ।

स्थानीय तथा आमनागरिकको भूमिका के रहन्छ ?


घर अगाडि वा बाटोमा बनाइएका नालाहरू पानी बग्नका लागि बनाइएका हुन् । त्याे फोहोर राख्ने ठाउँ हैन । यसका लागि नागरिक आफै सचेत हुन जरुरी छ । फोहोर पहिला घरभित्रै व्यवस्थापन गर्ने र फोहोर उठाउने गाडी आएपछि फोहोर राख्ने काम गर्नुपर्छ । त्यो भएको देखिएन । हरेक व्यापारी, हरेक घरधनीले नालामा फोहोर लगेर राखिदिने गरेका छन् । नगरपालिकाले फोहोर सम्झेर नलाने काम भए जस्तो लागेको छ । मैले महिनौंसम्मको फोहोर त्यहीँ थुप्रिएको पाएको छु । नगरपालिकाले त्यसको निगरानी राख्न सकेन । बिजुलीको पोल सार्वजनिक हो । हरेक बिजुलीका पोलमा साना साना व्यापारीहरूले विज्ञापन राखेका छन् । त्यहाँ विभिन्न प्रकारका विज्ञापन पर्चा पम्पलेट टाँसिएको छ ।  

यो पनि एक प्रकारकाे फोहोर नै भयो हैन ?


बाटोमा हिँड्दा देखिने गरी राखिएको फोहोरलाई मात्र हामीले फोहोर मान्नु हुँदैन् । बिजुलीका पोलमा राखिएका विज्ञापन भनेका दृश्य प्रदूषण हो । दृश्य प्रदूषणले सहरलाई कुरुप बनाउँछ । हाम्रो फोहोर मैला व्यवस्थापन ऐन २०६८ ले त्यसलाई फोहोर भन्छ । भुइँमा रहेको फोहोर उठाउने तर, त्यो फोहोर नउठाउने काम भएको छ । पोलमा कुनै पनि विज्ञापन गरिनु गैरकानुनी काम हो । स्थानीय सरकारसँग अनुमति नलिइकन ती ठाउँमा विज्ञापन गर्न पाइँदैन भन्ने हाम्रो कानुनमा नै उल्लेख गरिएको छ । यदि कसैले त्यसरी पर्चा पम्पलेट टास्छ भने १५ हजारसम्मको जरिवाना हुने कानुनमै उल्लेख छ । नगरपालिकाले यस्ता पर्चा पम्पलेट टाँस्नेलाई को हो भन्ने पहिचान गर्न सक्छ । त्यहाँ उसको नाम टेलिफोन नम्बर उल्लेख गरिएको हुन्छ । नगरपालिकामा वातावरण विभाग पनि हुन्छ । त्यसले के हेरेर बसेको छ ? भन्ने प्रश्न चिन्ह यहीँनेर आउँछ । त्यसले यहाँको नगरको सुन्दरता कसरी राख्ने भन्ने विषयमा छलफल गर्ने थलो हो । उसले नगरपालिका प्रमुखको निर्देशनका काम गर्न सक्छ । अहिले वीरेन्द्रनगर नगरपालिकाको हरेक क्षेत्र दृश्य प्रदूषण हुने गरी फोहोर राखिएको छ ।

दृश्य प्रदूषण कसरी हटाउन सकिन्छ ?


दृश्य प्रदूषण हटाउनु पर्ने माग गर्दै मैले नै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थिएँ । १६ भदाै २०७२ मा सर्वोच्च अदालतबाट फैसला गर्दै पोलमा राखिएका पर्चा पम्पलेट होर्डिङ बोर्ड पनि फोहोर हुन्, ती सबै निकाल्नु भनेर काठमाडौं महानगरपालिकालाई आदेश गरेको छ । काठमाडौं महानगरपालिका अहिले त्यो दिशामा लागेको छ ।  सरकारले देशभरका स्थानीय तहलाई पत्राचार पनि गरेको मैले पाएको छु । दृश्य प्रदूषण हटाउने विषय कार्यान्वयन भएको छैन । त्यो कार्यान्वयन गर्ने पनि स्थानीय सरकारको दायित्व हो ।

यदि वीरेन्द्रनगरलाई सुन्दर बनाउने हाे भने पार्टीको नारा, पर्चा, पम्मलेट, ब्यानर र होर्डिङ बोर्ड पनि हटाउन जरुरी छ । यी कानुन विरुद्धका काम हुन् । नगरपालिकाले अनुमति नदिएर राखिएका सबै कुरा हटाउन जरुरी छ । उनीहरूलाई कारवाही गर्न नगरपालिकाले सकेको देखिएन ।

प्रदेश सरकारले बेवास्ताका कारण पनि यो समस्या आएको हो ?


प्रदेश सरकार भनेको मुख्यम निकाय हो । यसले आफ्नो मातहतको स्थानीय तहलाई निर्देशन दिन सक्छ । केन्द्र सरकारले नै हस्तक्षेप गर्नुपर्छ भन्ने छैन । केन्द्र सरकारले बनाएको कानुन सबै तहका सरकारले मान्नुपर्छ । सुन्दर सहर बनाउने दायित्व तहको सबै सरकारको आवश्यकता हो ।

वातावरणको क्षेत्रमा पछिल्लो चरणमा डोजरे विकासले असर गरेको पाइन्छ नि ?


विकास गर्न डोजर भन्ने एउटा साधन जो छ त्यसमा पनि वातावरणमा कुनै प्रकारले विकास गर्न सकिन्छ । नेपालका डाँडाकाँडामा डोजरे विकास गर्न खोजिएको छ । पहाडमा विकास नाममा डोजर प्रयोग गर्दा त्यसले असर नै निम्त्याएको छ । डाँडाको सिस्टम जुन छ त्यसलाई नै तहसनहस पार्छ । माथि बाटो खोल्ने तल्लो क्षेत्रमा सहर छ । माथि त्यसका कारण बाढीपहिरो आउने र  तल्लो क्षेत्रमा आंतक नै मच्चिएको छ । अहिले स्थानीय तहका नाममा डोजर, नेताका आफन्तका नाममा डोजर, हरेक जनप्रतिनीधिका नाममा डोजर, डोजरे विकास अध्ययन विनाको विकासले गर्दा अत्यन्तै वातावरणीय क्षति भइरहेको छ ।

यसका लागि बढी जिम्मेवार को देख्नुहुन्छ ?


नागरिक वा कुनै व्यवसायीले सरकारको अनुमतिबिना डोजर चलाएर विकास गर्छु भन्छ भने त्यहाँ चाहिँ कुनै न कुनै गडबडी छ भन्ने बुझ्नुपर्छ । त्यसको अनुगमन गर्ने काम स्थानीय सरकारको हो ।













0 प्रतिकृया