Follow us:


Follow us

१६ साउन २०८३, शनिवार
१६ साउन २०८३, शनिवार


जंगबहादुरले धरहराबाट फाल हाल्न बनाएको 'प्यारासुट' कहाँ छ ?

एजेन्सी
५ माघ २०७८


जंगबहादुरले धरहराबाट फाल हाल्न बनाएको 'प्यारासुट' कहाँ छ ?

एजेन्सी । १८९८ मंसिर (सन् १८४१) महिनामा बहुलाएको हात्ती काबुमा ल्याउन सफल भएबापत तोपखानामा कार्यरत जंगबहादुर युवराज सुरेन्द्रको अंगरक्षकमा सरूवा भए । माघ महिनामा युवराजलाई मानसिक रोगले ग्रस्त बनायो ।

हावापानी बदल्न युवराजको टोली जंगबहादुर सहित त्रिशुली जाने भयो । करिब १ महिनाको त्रिशुली बसाइपछि युवराजको टोली काठमाडाैं फर्कियो । उदण्ड स्वभावका युवराज सुरेन्द्र टहल्दै राजदरबार (हनुमानढोका दरबार) बाट खिचापोखरी हुँदै धरहरा नजिकै पुगे । त्यसबेला धरहराको मुख्यद्वारमा लगाइएको भोटे ताल्चाको साँचो जंगबहादुरका माइला भाइ बमबहादुर कुवँरसँग थियो ।

दिवंगत जनरल भीमसेन थापाले बनाएको भीमसेन स्तम्भ (धरहरा) निकैबेर हेरेपछि साथमा रहेका कप्तान जंगबहादुरलाई युवराजले धरहराबाट "हाम फाल" भने । कप्तान जंगबहादुरको सातो गयो । धरहराबाट हाम फाल्दा अवश्य ज्यान जाने निश्चित प्रायः थियो ।

जंगबहादुरले भाइ बमबहादुरलाई लुक्न आँखाको इसारा गरेपछि जंगबहादुरले भने "सरकार ! सरकारकै हुकुमबाट तल मुल ढोकामा भोटे ताल्चा लगाउन लगाइबक्सेर ढोका बन्द गराइएको हो तसर्थ ताल्चा तोड्नु मनासिब परोइन्, साथै सरकार ! हाल यहाँ १०-२० जवान मात्रै छाैं, १५ दिनपछि एक समारोहको आयोजना गरी धरहराबाट फाल हालेमा सबैले सो तमासा देख्न पाउनेछन् । तसर्थ १५ दिनपछि मात्र धरहराबाट फाल हाल्नु उपयुक्त हुन्छ । " जंगेको कुरा युवराजलाई चित्त बुझ्यो । उनी "लाै हुन्छ, जंगेले धरहराबाट फाल हालेको तमासा सबैले देखून्" भनी चुप लागे ।

कप्तान जंगबहादुरले तत्काल धरहराबाट फालहाल्नु नपरेपनि सन्की युवराजले कुनबेला "जंगे लाै फाल हाल् " भन्ने हो ? तसर्थ फाल हाल्नु नै परेमा के गर्न सकिन्छ, त्यस विषयमा सोच विचार गरी जंगबहादुरले शीघ्रातीशीघ्र २ वटा बाँसका ठूल्ठूला हल्का तर मजबुत छाताहरू पाटनमा बनाउन अह्राए । जंगबहादुरको भाग्य बलियो, युवराजले उनलाई धरहराबाट फाल हाल्न लगाउने कुरो बिर्सिए साथै अरूले पनि सम्झाइ दिएनन् ।

फिल्ड मार्सल रूद्रशमशेरको कथनअनुसार वि.सं. १९५८ (सन् १९०१) सम्म पनि श्री ३ देवशमशेरको थापाथलीस्थित दरबारको गारतमा जंगबहादुरले निर्माण गराउन लगाएका २ वटा बाँसका विशाल छाताहरू राखिएका थिए । सन् १८४१ मा आधुनिक प्यारासुटको विकासले खासै व्यापकता नपाएको सन्दर्भमा जंगबहादुरको कल्पनालाई मान्नै पर्नेहुन्छ ।
तस्विरः प्रतिकात्मक













0 प्रतिकृया