Follow us:


Follow us

२४ भदौ २०८३, बुधवार
२४ भदौ २०८३, बुधवार


१३.१७ प्रतिशत बढ्यो दुधको मुल्य

एक्सन खबर
१८ माघ २०७८


१३.१७ प्रतिशत बढ्यो दुधको मुल्य

काठमाडौं । किसानहरुलाई राहत प्रदान गर्न भन्दै सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार हाल लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि भएको छ । उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ । किसानले दूध उत्पादन लागत बढेको भन्दै दुई वर्षदेखि मूल्य बढाउन माग गर्दै आएका थिए ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धि गर्न अनुरोधपछि अध्ययनका लागि समिति गठन गरेको थियो । उक्त समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मन्त्रालयले मन्त्रिपरिषदमा लगेको थियो ।

प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आएपनि पछिल्लो साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको थिएन । दूध व्यवसायले मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा ५ प्रतिशत योगदान पु¥याउँदै आएको बताइएको छ ।

नेपालमा ६० प्रतिशत भैसीको र ४० प्रतिशत गाईको गरी वार्षिक २३ लाख एक हजार टन दूध उत्पादन हुने गरेको तथ्याङ्क छ । राष्ट्रिय दुग्ध विकास नीति २०७८ मा सरकारी, सहकारी तथा निजी क्षेत्रको सहकार्य र साझेदारीमा दूधको  उत्पादन र उत्पादकत्व वृद्धि गरी देशलाई दुग्ध पदार्थमा आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन हुने वातावरण निर्माण गर्ने उल्लेख छ ।













0 प्रतिकृया