भाेलीकाे प्रतिनिधि सभा बैठक स्थगित, फागुन २ गते बस्ने
एक्सन खबर
काठमाडौं । प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १:०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् ।
उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ । 'प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १:०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।' महासचिव गाैतमले जारी गरेकाे सूचनामा भनिएकाे छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर भाेली बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री देउवाले बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने तयारी गरेपनि त्यस विषयमा सत्तारुढ गठबन्धनभित्रै सहमति नजुटेकाले एमसीसीबारे सहमति जुटाउन प्रधानमन्त्रीले समय लिएको श्राेतकाे भनाइ छ ।
मंगलबार मात्रै बुधबारको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे थियाे । उक्त कार्यसूचीमा एमसीसी टेबुल गर्ने विषय भने राखिएको थिएन ।
सम्भावित कार्यसूची जारी गरेपछि सभामुख सापकोटाले बुधबार बिहान ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकामा उक्त बैठकमा सरकारको तर्फबाट मन्त्री बडूले एमसीसी टेबुल गर्ने विषय राख्ने तयारी थियो । प्रधानमन्त्री देउवाले मंगलबार साँझ मन्त्री बडूलगायत कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएर छलफल गरेपछि संसद् बैठक सार्न सभामुखलाई आग्रह गरिएको हो ।
0 प्रतिकृया