Follow us:


Follow us

२७ जेठ २०८३, बुधवार
२७ जेठ २०८३, बुधवार


वजन (कविता)

एक्सन खबर
२७ माघ २०७८


वजन (कविता)

वजन

काँधमा चढेर मच्चिंदा
बा भन्नुहुन्थ्यो-
‘कति चल्छ हँ यो केटो
थपक्क बस् नचली !’
‘कहिलै थाक्दैनन रे’ भन्ने सुनेका
बाको मुख बाट नै
थकान उच्चारण भएको सुनेपछि लाग्थ्यो-
म संसारकै वजनदार मानिस रहेछु !
काखमा बुर्कुसी मार्दा
आमा कराउनुहुन्थ्यो-
‘कति दुख्ने गरी घोंच्छ
यो कालेले लाटो मासुमा !’
‘सबथोक सहन्छिन रे’ भन्ने सुनेकी
आमाको मुख बाट नै
दुखाई स्मरण भएको देख्दा पनि लाग्थ्यो-
म नै संसारको सबभन्दा वजनदार मानिस रहेछु !
पिठ्यूँमा बोक्दा बोक्दै
दिदी थाकेको देख्दा,
वीर्यको भारी बोक्दा बोक्दा
जहान जीर्ण बनेको देख्दा,
अनि
मेरो एउटा चर्को डाकोमा
सन्तान थरर काँपेको देख्दा सम्म लागिरहन्थ्यो-
म नै एक मात्र वजनदार मानिस हुँ यो जगतको !
लाग्थ्यो-
मलाई कसैले चलाउन सक्दैन
मलाई कसैले हल्लाउन सक्दैन
वजनदार छु,
मलाई कसैले झुकाउन सक्दैन
मलाई कसैले उडाउन सक्दैन !
एकदिन यस्तो आयो
एउटै जहाजले उडायो
म जस्तै सयौं वजनदारहरुलाई
घर देखि धेरै टाढा
देश देखि कैयौं पर !
तत्पश्चात लाग्न थाल्यो-
वजनदारहरुलाई पनि बोक्ने
एक नम्बरको वजनदार त जहाज पो हुँदो रहेछ !
आज हेर्छु,
आफ्नै शीर माथि बाट ओहोरदोहोर गर्ने जहाज
चाहेको बेला उडाउन आउँदैन कम्पनीको आँगन सम्म !
आखिर,
के होला जहाज भन्दा बढ्ता वजनदार संसारमा ?
अनायासै आँखा बाट
निस्किन्छन दुई थोपा पानी,
लाख कोशिस गर्छु
आँखाकै डिलमा तिनलाई अड्याउनलाई !
अझ कोशिस गर्छु-
किलक़िलेकै बाटो गरी मुटु सम्म फर्काउनलाई !
अहँ,
कसैगरी सक्दिन भुइँमा खस्न बाट रोक्न तिनलाई !
ओहो,
रोकिराख्नै नसकिने
अड्याउनै नसकिने
संसारको सबैभन्दा वजनदार वस्तु त आँशु पो रहेछ !
मानिस कति हल्का हुन्छ, आँशुले नै तय गर्दो रहेछ !
मानिस कसरी हल्का हुन्छ, आँशुले नै निर्णय गर्दो रहेछ !!
हेमन्त गिरी













0 प्रतिकृया