ख्रीष्टियन समुदायका तीन संगठनविच कार्यगत एकता
एक्सन खबर
काठमाडौं । नेपाल राष्ट्रिय मण्डली सङ्गति, नेपाल ख्रीष्टियन समाज र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालबिच कार्यगत एकता कायम भएको छ । शुक्रबार तीन धार्मिक संगठनविच एक अर्काको अस्तित्व र पहिचान स्वीकार गर्ने गरी ख्रीष्टियन समुदाय र चर्चहरुका समस्या समाधान गर्न कार्यगत एकता भएको हो ।
ख्रीष्टियन समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक हक अधिकार सुनिश्चित गर्ने अभिप्रायले तीन संगठनहरु कार्यगत एकतामा बाँधिएका हुन् । सरकारले अझै ख्रीष्टियन समुदायलाई पहिचान नगरेको र मान्यता नदिएको हुनाले आफ्नो पहिचान तथा अस्तित्वका लागि बोल्ने, बहस पैरबी गर्ने तथा आफ्ना मागहरु एकीकृत रुपमा राख्नका लागि कार्यगत एकता कायम गरिएको राष्ट्रिय ख्रीष्टियन महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले बताए ।
ख्रीष्टियन समुदायका विभिन्न संघ संगठन तथा बुद्धिजिवीहरुबाट तीनवटै संगठन एक भएर काम गर्नुपर्ने सुझावहरु आएकाले कार्यगत एकता गरिएको बताइएको छ । शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय मण्डली संगतीका अध्यक्ष रेभ हनोक तामाङले ख्रीष्टियन समुदायका विभिन्न समस्याहरुलाई निराकरण गर्न, समुदायविच भातृत्व कायम गर्न तथा विभिन्न कार्यक्रमहरुमा सहकार्य गर्न सहमति कायम भएको बताए ।
नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेलले सबै मण्डलीहरु एक ठाउँमा आउनुपर्छ भनेर यो अभियान थालिएको बताए । विगतमा कतिपय संस्थाहरु विच कार्यगत एकता भएपनि सन्तोषजनक कार्य नभएको स्मरण गर्दै ७ बुँदे सहमतिले ख्रीष्टियन समुदायलाई एकबद्ध बनाउन सहयोग पुग्ने विस्वास व्यक्त गरे । उनले राज्यसँग आफ्ना हक अधिकार माग्ने सवालमा एक भएर जाने प्रतिबद्धता जनाए ।
सहमतिपत्रमा नेपाल राष्ट्रिय मण्डली संगतीका अध्यक्ष हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष रेभ जोसेफबहादुर श्रेष्ठ, राष्ट्रिय ख्रीष्टियन समाजका अध्यक्ष सिवी गहतराज तथा ती संगठनका सल्लाहकार, महासचिबले हस्ताक्षर गरेका छन् ।
0 प्रतिकृया