चोलेन्द्रविरुद्धको महाभियोग लोकतन्त्रमाथिको हमला : एमाले
एक्सन खबर
काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध ल्याइएको महाभियोगको प्रस्ताव लोकतन्त्रमाथि हमला भएको बताएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूको धारणा सुनेपछि दलका नेता तथा अध्यक्ष केपी ओलीले जबराविरुद्धको महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको निरन्तर हमलाको रुपमा लिनुपर्ने बताएका हुन् ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका छन् । जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावका विषयमा औपचारिक धारणा बनाउन सोमबार बसेको दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनबाट भइरहेको लोकतन्त्रमाथिको हमलाको निरन्तरता रहेको बताएका हुन् ।
‘आजको बैठकमा सांसदले धारणा राखेपछि अध्यक्ष ओलीले जबरामाथिको महाअभियोग लोकतन्त्रमाथिको हमलाको निरन्तरताको रुपमा रहेको बताउनु भयो,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
जबराविरुद्धको महाभियोगको प्रस्ताव अदालतलाई अस्थिर बनाउन, निर्वाचन सार्न र एमसीसी पारित गर्ने तीन कारणले आएको भन्दै ओलीले यसको प्रतिवाद गर्नुपर्ने बताएका छन् । ‘महाअभियोगको प्रस्ताव जुन बेला आएको छ । त्यसलाई हेर्दा तीन कारण देखिन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने, ‘अदालतलाई अस्थिर बनाउने रहने, निर्वाचन सार्ने र एमसीसी पारित गर्ने तीन कारण देखिएका छन् । यसको एमालेले प्रतिवाद गर्नुपर्छ ।’
यद्यपि, प्रधानन्यायाधीश जबरालाई जोगाउनुपर्छ भन्ने एमालेको धारणा नभएको प्रमुख सचेतक भट्टराईको भनाइ छ । बैठकमा भीम रावल, घनश्याम भुसाल, गोकुल बाँस्कोटा, झपट रावल, विमला विश्वकर्मासहितका सांसदले धारणा राखेको र उनीहरू महाभियोग प्रस्ताव र एमसीसीबारे पार्टी स्पष्ट धारणा आउनुपर्ने बताएका भट्टराईले जानकारी दिए ।
एमसीसीमा गठबन्धनकाे एकीकृत धारणा चाहियाे
यस्तै एमालेले एमसीसीबारे एकीकृत धारणा ल्याउन सत्तारुढ गठबन्धनलाई आग्रह पनि गरेको छ । अध्यक्ष ओलीले एमसीसीबारे सत्तारुढ गठबन्धनले एकीकृत धारणा ल्याउनुपर्ने बताएका हुन् । ‘बैठकमा सांसदहरूले महाअभियोग प्रस्ताव र एमसीसीबारे पार्टीको धारणा आउनुपर्ने बताउनु भयो । उहाँहरूको कुरा सुनेपछि अध्यक्ष ओलीले गठन्धनको एकीकृत धारणा आउनुपर्ने बताउनुभयो,’ प्रमुख सचेतक भट्टराईले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘गठबन्धनको एकीकृत धारणा नआउँदासम्म एमाले पर्ख र हेरको अवस्थामा बस्छ ।’
एमसीसीकाबारेमा सत्तारुढ गठबन्धनआवद्ध दलकै फरक फरक धारणा रहेको भन्दै एमालेले अहिले नै एमसीसीबारे आफ्नो पार्टी स्पष्ट धारणा नल्याउने बताएको छ । बैठकमा कतिपय सांसदहरूले एमसीसी र चाेलेन्द्र शमसेरलाइ बाेकेर एमाले निर्वाचनमा गए पत्तासाफ हुने भन्दै यी दुवैलाई बाेक्न नहुने सुझाब दिएकाे श्राेतकाे भनाई छ ।
0 प्रतिकृया