Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


'अमेरिकासँगकाे सम्बन्ध तल माथि परे यसको दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले बोक्नु पर्नेछ’

एक्सन खबर
१० फागुन २०७८


'अमेरिकासँगकाे सम्बन्ध तल माथि परे यसको दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले बोक्नु पर्नेछ’

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अमेरिकालाई मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) फिर्ता लिन आग्रह गरेका छन् । जनस्तरमा बिरोध भइरहँदा समेत सरकारले एमसीसी टेबल गरेको भन्दै गौतमले जनताप्रति सरकार इमान्दार नभएको उल्लेख गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै गौतमले एमसीसी सम्झौता फिर्ता लिए नेपाल र अमेरिकाबीचको सम्बन्ध अझै प्रगाढ र समुधुर हुने विश्वास व्यक्त छन् । 'मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु‚' गौतमले भनेका छन्, 'यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउने सहयोग मिल्नेछ ।'

एमसीसीका कारण अमेरिकासँगको सम्बन्धमा समस्या उत्पन्न भए त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिम्मेवार हुने उनको भनाइ छ ।  ‘टोपी हातले समाउँदै एमसीसीलाई सकी नसकी बोक्न जाने र नेपालमा ल्याएर पशुपतिनाथलाई पूजा गरे जस्तै पवित्र काम ठान्ने तथा आफूलाई परमपिता मान्नेहरूले नेपाली जनतालाई बुझिने गरी जबाफ दिनुपर्छ । यो सम्झौताले ७४ वर्ष पहिलेदेखि अविच्छिन्न मित्रता रहेको संयुक्त राज्य अमेरिकासँग नेपालको सम्बन्धमा केही तल माथि पर्‍यो भने यसको सम्पूर्ण दोष आफूलाई चुकेल्या ठान्ने खलनायकहरूले नै बोक्नु पर्नेछ,’ गौतमले भनेका छन् ।  

यस्तै गाैतमले एमसीसी सम्झौतामा नेपाललाई सबै हिसाबले अपमानित हुनेगरी तल पारिएको, परियोजनामा नेपालको लगानीलाई मूल्यहीन बनाइएको र सबै विषयमा एमसीसीलाई अग्राधिकार दिइएको भन्दै नेपाल अमेरिकाको अधिनस्थ हुनुपर्ने खतरा उत्पन्न भएको पनि उल्लेख गरेका छन् ।  

नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधीनतामै गम्भीर आँच पुग्ने गरी, असलग्न परराष्ट्र नीतिकोसमेत धज्जी उडाउने गरी एमसीसी परियोजना ल्याइएको उनको जिकीर छ ।













0 प्रतिकृया