Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


एमसीसी सकसः काे पक्षमा काे विपक्षमा ?

एक्सन खबर
१२ फागुन २०७८


एमसीसी सकसः काे पक्षमा काे विपक्षमा ?

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । बिहीबार बिहान प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताबीच छलफलको केही समयपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि सहभागी भएका हुन् ।

शर्माका अनुसार तीन नेताबीच एमसीसीको विषयमा करिब आधा घन्टा छलफल भएको थियो । सरकार तत्कालै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन गराउने तयारीमा छ भने माओवादी केन्द्र संशोधनविना अनुमोदन गराउने पक्षमा छैन । एकीकृत समाजवादीमा भने दुई धार देखिएको छ ।

 माओवादीले संसद् बहिष्कार नगर्ने, एमसीसीको विपक्षमा मतदान गर्ने

माओवादी केन्द्रले बिहीबारको संसद् बैठक बहिष्कार नगर्ने भएको छ । माओवादीका नेता नारायणकाजी श्रेष्ठले आजको संसद् बैठक बहिष्कार नगर्ने, तर भोटिङ भएमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् । ‘हाम्रो पार्टीले आजको संसद् बैठक बहिष्कार गर्दैन, तर एमसीसी संसदमा निर्णयार्थ पेस भएमा विपक्षमा मतदान गर्नेछ,’ श्रेष्ठले भने, ‘एमसीसी संसदबाट पास हुने देखियो ।’

उनका अनुसार कांग्रेस, लोसपा, एकीकृत समाजवादी र जसपाको सहयोगमा एमसीसी संसद्बाट पास हुन्छ ।

 नेकपा एसका मन्त्री एमसीसीको पक्षमा, नेताहरू विपक्षमा

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का मन्त्रीहरू एमसीसीको पक्षमा उभिँदा नेताहरू भने विपक्षमा देखिएका छन् । नेकपा एसबाट सरकारमा सहभागी भएका मन्त्रीहरू एमसीसी सदनबाट अनुमोदन गराउनु पर्ने पक्षमा छन् । शीर्ष नेताहरू एमसीसीको विपक्षमा उभिँदै कार्यकर्तालाई सडकमा उतारेका छन् । नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू किसान श्रेष्ठ, रामकुमारी झाँक्री र प्रेमबहादुर आले एमसीसीको पक्षमा छन् ।

तर, शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमसीसीको विपक्षमा छन् । अध्यक्ष माधवकुमार नेपाल पक्ष वा विपक्षमा स्पष्ट रुपमा खुलेका छैनन् । तर, पार्टीको निर्देशनमा नेकपा एसनिकट भ्रातृ संगठनका नेता कार्यकर्तामा एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् ।  
 
 हृदयेश त्रिपाठी समूहले एमसीसीको पक्षमा मतदान गर्ने

यता हृदयेश त्रिपाठी समूह अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा उभिएको छ । एमसीसीमाथिको छलफलमा भाग लिएर त्रिपाठी समूहले पक्षमा मतदान गर्ने भएको छ ।

त्रिपाठीको अध्यक्षतामा जनप्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता छ । सो पार्टीसँग अहिले दुई सांसद छन् । ‘बाबुराम भट्टराई प्रधानमन्त्री र वर्षमान पुन अर्थमन्त्री हुँदा एमसीसी माग गरेका हौं । त्यो सरकारमा म पनि सहभागी थिएँ,’ त्रिपाठीले भने, ‘एमसीसी अनुमोदनका लागि संसदमा दर्ता गर्दा केपी ओली सरकारमा म पनि थिएँ । मैले नैतिकहीन हुने काम गर्नु हुन्न । हाम्रो पार्टी एमसीसीको पक्षमा छ ।’













0 प्रतिकृया