अमेरिकाद्वारा एमसीसीलाई नोट
एक्सन खबर
काठमाडौं । नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो ।
टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा सुधार ल्याउने विश्वास व्यक्त गरेको अमेरिकी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा विदेशमन्त्री ब्लिन्केनले नेपाल र अमेरिकबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५ वर्ष पुगेको स्मरण गरेका थिए । दुई देशका नेताबीच युक्रेन संकटलगायतका विषयमा छलफल भएको थियो । विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले अकारण, अनुचित र नियोजित हमला गरेको बताएका थिए ।
प्रधानमन्त्री देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा पनि छलफल गरेको बताएका छन् । मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको बताइएकाे छ ।
‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौं,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘हामीले युक्रेनमा रुसको आक्रमण र युक्रेनको सार्वभौमसत्ताप्रतिको हाम्रो समर्थनबारे पनि छलफल गर्यौं।’
0 प्रतिकृया