एमसीसी २१औँ शताब्दीको उपनिवेश : नेत्रविक्रम चन्द ‘विप्लव’
एक्सन खबर
काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी सम्झौता अनुमोदन भएको दिन १५ फागुन कालो दिनकोरूपमा दर्ज भएको बताएका छन् । विभिन्न ६ कम्युनिष्ट पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै विप्लवले राष्ट्रहितविपरीतको देश र जनताको भावना बेचेर सदनबाट एमसीसी सम्झौता अनुमोदन गरेर १५ फागुन कालो दिनको रुपमा दर्ज भएको बताएका हुन् ।
‘राष्ट्रभक्त जनताको विरोध भइरहँदा कथित जनप्रतिनिधिको संस्था संसदबाट एमसीसी अनुमोदन गरियो,’ उनले भने, ‘नेपाल कब्जा गर्नेगरी, जनताको भावना, देशको भावनाविपरीत १५ फागुनमा एमसीसी अनुमोदन गरियो । १ पुसजस्तै १५ फागुन पनि कालो दिनमा दर्ज भएको छ ।’
नेपालको स्रोत साधनमाथि हस्तक्षेप गर्ने रणनीतिअनुसार अमेरिकाले अनुदानको रुपमा पैसा दिएको उनको आरोप छ ।
अमेरिकाले नेपालमा रहेको कम्युनिष्ट जनमत भत्काउन र क्रान्तिकारी आन्दोलनलाई दबाब लागि परेको भन्दै उनले एमसीसी भनेको २१औँ शताब्दीको उपनिवेश रहेको दाबी गरे । अनुदान सहयोगको हस्तक्षेप नीतिअनुसार आएको एमसीसी नेपालमा उपनिवेश लाद्न ल्याएको आरोप लगाएका विप्लवले अनुदान सहयोग लिन सकिए पनि एमसीसी उपनिवेशको नीति लिएर ल्याएको जिकीर गरे ।
केही व्यक्तिको मन्त्री र सांसदको पद जोगाउन माओवादी केन्द्र अध्यक्ष पुष्पकमल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले राष्ट्रहितविपरीत रहेको एमसीसी अनुमोदनमा सहमति जनाएको उनको भनाइ छ ।
विराेध सभामा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले एमसीसी राष्ट्रघाती रहेकाे बताउँदै नेपालमा एउटा राष्ट्रघात थप भएको जिकीर गरे । रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको भएपनि सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित रहेकाे भन्दै वैद्यले नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा एमसीसी आधारित रहेको ठाेकूवा गरे ।
उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए ।
कार्यक्रममा जनक्रान्तिका महान् सहिद परिवार सङ्गठनकी अध्यक्ष खुमा सुवेदीले एमसीसीमा राष्ट्रघाती सम्झौता गर्नेहरुलाई आर्यघाटमा खरानी पार्न जुटिरहेको बताइन् । राष्ट्रघातीहरुलाई देशबाट खेद्नुपर्ने उनले बताइन् । देश बलिरहेको समयमा मध्यरातमा राष्ट्रघाती एमसीसी पारित गरिएकाले जनताको मुक्ति आन्दोलनमा खुट्टा नकमाउन आह्वान गरिन् ।
0 प्रतिकृया