Follow us:


Follow us

२२ असार २०८३, सोमवार
२२ असार २०८३, सोमवार


महाकालीको धार परिवर्तन गर्न नेपाली क्षेत्रमा भारतीय जेसिबी, नेपालीले गरे प्रतिकार

एक्सन खबर


महाकालीको धार परिवर्तन गर्न नेपाली क्षेत्रमा भारतीय जेसिबी, नेपालीले गरे प्रतिकार

बिरा दत्त भट्ट
दार्चुला । भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपालतर्फ फर्काउँदै भारतीय जेसीबी  नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका छन् । दार्चुला सदरमुकाम क्षेत्रको बंगाबगडको महाकाली नदी किनारमा भारतीय जेसिबी महाकाली नदी उत्खनन् गर्दै नेपाली क्षेत्रमा पुगेपछि स्थानीयहरुले ढुंगामुडा गरि बिरोध गरेका छन् ।

दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारमा ५ किलोमिटर पक्की तटबन्ध बनाइएको छ । भारतले पनि यहाँको जस्तै आफ्नै भु–भागमा तटबन्ध निर्माणको काम गरिरहेको सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टले बताए ।

भारतीय जेसिबी नेपाली क्षेत्रमा आएर महाकाली नदी नेपालतर्फ फर्काउने काम गरिरहेको भन्दै स्थानीयहरुले प्रतिकार गरेपछि एसपी विष्टको नेतृत्वमा सशस्त्र प्रहरी टोली उक्त क्षेत्र पुगेको थियो ।

‘जेसिबि नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीयले सांकेतीक रुपमा ढुंगामुडा पनि गरेछन् । तटबन्ध निर्माण भइरहेको भारतको क्षेत्रमा महाकालीको बहाव बढी भएकाले अस्थायी रुपमा नदीको पानी नेपालतर्फ फर्काउन खोजिएको रहेछ’ उनले भने । यसबारे भारतीय एसएसबी कमाण्डेन्ट महेन्द्र प्रतावलाई जानकारी गराएको एसपी विष्टले बताए । एसएसबीले जानकारी पाएपछि उक्त स्थलमा पुगेको थियो ।

तटबन्ध निर्माणमा भारतीय प्रशासनले नेपालको प्रशासन सँग समन्वय नगर्दा यस्तो समस्या आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको भनाइ छ । महाकाली किनारमा निर्माण भइरहेको तटबन्धको संरचना लगायतका विषयमा जानकारी गराउन भारतीय पक्षलाई अनुरोध गरिएको भएपनि हालसम्म जानकारी नगराएको उनले बताए । 'महाकाली सीमा नदी भएकाले नेपाली पक्षलाई त्यसबारे जानकारी गराइनु पर्थ्यो' प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।

आज उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुला र भारतको पिथौरागढ जिल्ला प्रशासनका अधिकारीहरुविच कुराकानी भएको छ । 'तटबन्धबारे नेपाली प्रशासनलाई जानकारी नगराउनु भारतीय पक्षको कमजोरी भएकाले यस्तो घटना भयो भनेका छौं । अब भारतका प्रशासनिक अधिकारीले कुरा गर्छन् होला,' उनले भने ।

विरोध भएको क्षेत्रमा दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख लगायत अधिकारीहरु पुगेका थिए । प्रशासनिक अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुले स्थानीयहरुलाई प्रशासनिक तहबाट समस्याको समाधान गरिने आश्वासन दिएका छन् ।













0 प्रतिकृया