त्यो बेलाका क्रान्तिकारीहरूको हविगत देख्नु नै भएको छ : प्रचण्ड
एक्सन खबर
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित नभएको भए देश अस्थिर बन्ने अवस्था आएको बताएका छन् । शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कर्णालीका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणमा बोल्दै उनले एमसीसी पारि नभएको भए देश अस्थिर अवस्था जाने भएकाले अन्तिम अवस्थामा एमसीसी पारित गरेको बताएका हुन् ।
एमसीसी परियोजना माओवादीको नेतृत्वको सरकारका बेला सम्झौता भएको र त्यो बेला बाबुराम भट्टराई प्रधानमन्त्री भएको भट्टराईले त्यसबारे जानकारी नगराएको उनले बताए ।
एमसीसी पारित गर्ने विषयमा अहिले गठबन्धन सहमत भएपनि त्यसमा रहेको केही बुँदा सच्याउनु पर्ने अवस्था आएको प्रचण्डको भनाई थियो । ‘हामी सबै एमसीसी पास गर्ने पक्षमा थियौं,’ उनले भने, ‘त्यो सम्झौतामा भएको केही बुँदा सच्याउनु पर्छ भन्ने हाम्रो भनाई हो । अहिले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सच्याइएको छ ।’
त्यस्तै, पार्टीको केन्द्रीय महाधिवेशन भएको लामो समयसम्म पदाधिकारी चयन गर्न नसकेको अवस्थामा प्रचण्डले एकल नेतृत्व गर्ने कार्यकर्तालाई संकेत दिएका छन् ।
करिब एक घण्टा एमसीसीका विषयमा कार्यकर्तालाई प्रशिक्षण दिएका प्रचण्डले विगतमा क्रान्तिकारी साथीहरूको कुरा सुन्दा आफू र माओवादी पार्टीले नै क्षति पुगेका कारणले अहिलेका क्रान्तिकारी साथीहरूको पनि कुरा नसुन्ने उनले बताए ।
‘२०६४ सालको निर्वाचनपछि माओवादी ठुलो पार्टी बन्यो । मेरो नेतृत्वमा सरकार बन्यो । प्रधानसेनापति रुमाङ्गत कटुवाल प्रधान सेनापति थिए । रक्षामन्त्री रामबहादुर थापा थिए । बाबुराम र रामबहादुर थापाले दायाँबायाँ बसेर प्रधान सेनापतिलाई कारबाही गर भनेर दबाब दिए । उनीहरू त्यो बेला क्रान्तिकारी जस्ता देखिए । म के क्रान्तिकारी हैन भनेर हस्ताक्षर गरेँ ।’ उनले भने,‘उनीहरूको भन्दा लागेर मैले हस्ताक्षर गरेर पाँच वर्ष नै चलाउन पाइने सरकार छाड्नु पर्यो । माओवादी पार्टी छिन्नभिन्न भयो । त्यो बेलाका क्रान्तिकारीहरूको हविगत देख्नु नै भएको छ ।’
यस्तै प्रचण्डले गठबन्धनको टुंगो नभएको भन्दै आफ्नै शक्तिमा चुनाव जित्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । ‘गठबन्धनलाई नकार्न सकिँदैन, गठबन्धन चुनावसम्म नै रहन्छ भन्ने टुंगो पनि छैन, आफ्नै शक्तिमा चुनाव लड्ने गरी तयारी थाल्नुस्’ प्रचण्डले भने ।
प्रचण्डमाथि ढुङ्गा प्रहार भएको समाचार भ्रामकः जिप्रका
जिल्ला प्रहरी कार्यालय सुर्खेतले अध्यक्ष प्रचण्डमाथि ढुङ्गामुढा प्रहार भएको समाचार गलत भएको जनाएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘प्रचण्डमाथि सुर्खेतमा ढुंङ्गा प्रहार, अवस्था गम्भीर’ भन्ने स्ट्याटस सार्वजनिक भएपछि त्यो गलत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आफ्नो फेकबुकमा भनेकाे छ ‘आज मिति २०७८साल फागुन २७ गतेको दिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा सञ्चालित राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत आउनु भएकोमा हाल सामाजिक सञ्जालमा उहाँ माथि ढुङ्गा मुढा प्रहार भएको भनी समाचार तथा सूचना केही व्यक्ति तथा मिडियाले अनर्गल तथा आधा रहिन रूपमा सम्प्रेषण गरेको पाइएकोले यसमा कुनै पनि सत्यता नभएको ब्यहोरा अनुरोध गरिन्छ ।’
प्रहरीले यस प्रकारका झुटा भ्रमपूर्ण र शान्तिसुरक्षाको दृष्टिकोणले गम्भीर प्रकृतिका सूचनाहरू सम्प्रेषण गरिएको पाइएमा विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने ब्यहोरा समेत सूचित गरेकाे छ ।
0 प्रतिकृया