युक्रेनमा नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध: बाइडेन
एजेन्सी
न्युयोर्क । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । ‘युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौं । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ,’ बाइडेनले भने ।
यसअघि रुसमाथि विभिन्न प्रतिबन्ध लगाएको अमेरिकाले रुसी भोड्का, सिफुड, डायमन्डलगायतका सामाग्रीमा नयाँ प्रतिबन्ध लगाएको छ ।
युक्रेनमाथि रसायनिक हमला प्रयोग गरे पुटिनले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए । यसैबीच, रुसी सेनाले युक्रेनका तीन ओटा मुख्य सहरहरुमा हमला गरेको छ । यसअघि युक्रेन संकटबारे रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भएको वार्ता निस्कर्षविहीन भएको थियो । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशमन्त्री दिमित्री कुलेबाबीच टर्कीमा भएको वार्ता बिनानिस्कर्ष टुंगिएको थियो ।
युक्रेनसँगको वार्तामा प्रगति भइरहेको छः पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग मस्कोको वार्तामा केही प्रगति भएको जिकीर गरेका छन् । मस्कोका चासोहरुलाई पश्चिमा देशहरुले सम्बोधन गरेमा द्वन्द्व अन्त्य हुने रुसी प्रशासनले बताइरहेका बेला राष्ट्रपति पुटिनको सो धारणा आएको हो ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोसँग मस्कोमा भएको भेटमा पुटिनले पश्चिमी प्रतिबन्धले रुसको विकासमा बाधा नपर्ने र रुस अझ बलियो हुने दाबी गरे । उनले युक्रेनी वार्ता व्यावहारिक रूपमा भइरहेकोसमेत बताए । ‘निश्चय नै सकारात्मक परिवर्तन भएको हाम्रा पक्षका वार्ताकारहरुले बताएका छन,’ पुटिनले भने, ‘यसबारे पछि मैले सबै भन्नेछु ।’
यसै साता रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता भएको थियो । युक्रेन युद्ध सुरु भएपछि अहिलसम्मकै उच्च तहमा भएको सो वार्तामा कुनै ब्रेक थ्रु हुन सकेको थिएन ।
रुसी हमलामा हजारौंको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस देश छोडेर छिमेकी देशहरुमा शरण लिएका छन् । युक्रेन संकटका कारण रुस र अमेरिकाबीच अर्को द्वन्द्व भड्किने त्रास बढिरहेको छ ।
युक्रेनको प्रतिरोध र पश्चिमा प्रतिबन्धले रुसी पक्ष चकित परेको अमेरिकी गुप्तचर निकायका एजेन्टहरुले दाबी गरेका छन् । तर, रुसले भने यसलाई अस्वीकार गर्दै आएको छ । बरु प्रतिबन्धले आफ्नै देशलाई फाइदा भएको पुटिनले दाबी गरेका छन् । ‘सोभियत युनियन प्रतिबन्धमा पनि बाँचेको थियो । यसले विकासमा सहयोग गर्नुका साथै ठूलो उपलब्धी प्रदान गरेको थियो,’ पुटिनले भने ।
0 प्रतिकृया