प्रकाश सपुतको ‘पिर’ले माओवादीका नेताहरूलाई झनै पिर
एक्सन खबर
काठमाडौं । यथार्थपरक गीत संगित सृजना गर्न माहिर गायक प्रकाश सपुतले ६ महिना पछि ल्याएको ‘पिर’ ले सामाजिक सञ्जाल तात्तिएको छ । शुक्रबार सार्वजनिक गीतमा माओवादी जनयुद्धका लडाकु महिलालाई बेश्याबृद्धिमा लागेको देखाएपछि माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले आपत्ति प्रकट गर्दै युट्युवबाट गीत नै हटाउन दवाव दिइरहेका छन् ।
प्रकाश सपुतको आफ्नै युट्युव च्यानलमा सार्वजनिक गीतले तत्कालिन माओवादी जनयुद्धमा लडेका एक दम्पत्तिले पाएको दुखः दर्शाएको छ । जनयुद्धमा लागेर गोली समेत खाएका दम्पत्तिलाई पार्टीले वेवास्ता गर्दा उनीहरुले पाएको दुखः पिरलाई कथाका रुपमा उतारिएको छ ।
गायक प्रकाशसँगै सुरक्षा पन्त, सम्झना भण्डारीको जिवन्त अभिनय रहेको गीत रिलिज भएको २४ घण्टा नपुग्दै युट्युवको ट्रेण्डिङमा चढेको छ । यो समाचार तयार पार्दासम्म ७ लाख ४१ हजार बढीले हेरिसकेका छन् ।
माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’ उनले फेसबुकमा लेखेकी छिन् ।
यस्तै माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि गीतलाई लिएर आपत्ति जनाउँदै भनेका छन्–‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन्–त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’
१६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गरेको छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिएर युद्ध लडेकाहरुको सपना अझै पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ । गीतको राजनीतिक पक्षलाई लिएर माओवादी नेताहरुले विरोध नगरेपनि जनयुद्धमा सहभागी महिला लडाकुले अभावका कारण देह व्यापारमा संलग्न हुनुपरेको देखाइएको छ । माओवादी नेताहरुको यही दृश्यमा आपत्ति हो ।
सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरेले अभिनय गरेका छन् । युट्युवमा गीत हेर्नेहरुले प्रकाश सपुतकै पक्षमा कमेन्ट गरेका छन् । अधिकांशले गीतले बर्तमान राजनीति र जनयुद्ध पछि लडाकुले भोग्नु परेको पीडा झल्किएको भन्दै प्रशंशा गरेका छन् ।
0 प्रतिकृया