प्रधानन्यायाधीशविरुद्धकाे महाअभियोग प्रस्ताव आउँदो बैठकमा छलफल हुने
एक्सन खबर
काठमाडौं । प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् ।
आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ ।
बैठकमा सांसदद्वय भीम रावल र प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरिरहेको र यसप्रति नेपाल सरकार मौन बसेको अन्दै आपत्ति जनाए । एमसीसी सम्झौता अनुमोदनपछिको अवस्थाबारे जानकारी दिन रावलले माग गर्दा सुवालले एमसीसी खारेज गर्न माग गरे ।
एमाले सांसदकाे नाराबाजीबीच सभामुख सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका हुन् । सापकाेटाले संसदमा कायम अवराेध हटाउन आजकाे बैठकमा रुलिङसमेत गरेका थिए ।
संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव एक महिनापछि आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पेस भएसँगै आउँदो बैठकमा महाअभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिए । ‘आगामी बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुनेछ,’ सभामुख सापकोटाले बैठकमा भने ।
आइतबारको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् । १ फागुनमा दर्ता गरिएको महाअभियोग प्रस्ताव पेस गर्दै उनले महाअभियोग प्रस्ताव पारित गर्न सघाउन सबै सांसदहरूलाई आग्रह गरे ।
एक महिनाअघि १ फागुनमा देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक रहेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संसदमा दर्ता गरिएको थियो । महाभियाेग संसदमा दर्ता भएसँगै प्रधानन्यायाधिश जवरा निलम्बनमा छन् ।
0 प्रतिकृया